काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको पोलिग्राफ जाँच गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको प्रारम्भिक बयान र जिल्ला प्रहरी परिसर, टेकुमा दिएको बयानमा एकरुपता नदेखिएपछि उनको पोलिग्राफ जाँच गरिएको एक प्रहरी अधिकृतले अनलाइनखबरसँग बताए ।
यो विषयलाई समेत समावेश गरेर प्रहरीले आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको छ ।
‘उनले अध्यागमनका सबैसमक्ष पैसा पुग्ने बताएका थिए, आफू पक्राउ परेपछि को–कोले कस्तो प्रक्रिया जनाए त्यसबाट पनि को को मुछिन्छन् भन्ने थाहा हुन्छ भनेका थिए’, एक अधिकृतले भने, ‘सरकारी वकिलको रोहबरमा भएको बयानमा उनले एकदमै थोरै कुरा मात्र बोलेका थिए ।’
यद्यपि, उनले ७ जना अधिकृतको नाम भने बयानमा लिएका थिए । सरकारी वकिलले उनीहरुलाई समेत प्रतिवादी बनाएर ल्याउन भनेपछि प्रहरीले थप ७ जनालाई प्रतिवादी बनाएको छ । यसअघि नै प्रहरीले अर्का अधिकृत ताराबहादुर कुँवरलाई पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, गिरोहका सदस्यहरुसँग प्रत्यक्ष रुपमा पहिले कुँवर र उनीपछि खड्का संलग्न हुने गरेका थिए । ‘त्यसैले अरु अधिकृतहरुको प्रत्यक्ष प्रमाण फेला नपरेको हो, तर उनको बयानमा सबै विवरण खुल्ने परिस्थिति छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् ।
संगठित अपराधमा ६० दिनसम्म अनुसन्धानपछि प्रहरीले ९ कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउँदै राय पठाएको छ ।
अधिकृतहरुका अनुसार, रायमा नरवीरको कसूर पुष्टि हुने प्रशस्त आधारहरु छन् । ‘मोबाइलको विवरण, सीडीआर लगायतका विषयले उनले पैसा लिएको पुष्टि हुन्छ’, एक अधिकृतले भने, ‘उनी पक्राउ पर्दा समेत दुई लाख रुपैयाँ बरामद भएको थियो ।’
उनको साथबाट बरामद मोबाइल लिएर जाँच गर्दा प्रहरीले ६६ जना युवाको सूची समेत फेला पारेको थियो, जो हालसालै विभिन्न मुलुक उडेका थिए ।


















