पूर्व ऊर्जामन्त्रीद्वारा घोराही-खुंग्री प्रसारण लाइनको निरीक्षण

34

रोल्पा ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिञ्चाईं मन्त्री वर्षमान पुन अनन्तले निर्माणाधीन घोराही-खुंग्री १ सय ३२ केभी प्रसारण लाइनको निरीक्षण गरेका छन्। रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पुनले आइतबार खुंग्रीस्थित आयोजना स्थल पुगेर आयोजनाका कर्मचारी र  निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिए।

आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमा भित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे। आयोजनाका कर्मचारी तथा निर्माण पक्षका प्रतिनिधिसँग पुनले जिल्लाबाट संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नप्रतिनिधि र पूर्वविभागीय मन्त्रीका हैसियतले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए।

‘ऊर्जा मन्त्री भएका बेला मैले नै अघि बढाएको योजना भएकोले पनि मेरो यसमा चासो छ,’ उनले भने, ‘प्रसारण लाइन निर्माणका क्रममा कुनै समस्या आइपरे मलाई जानकारी गराउनुस्, सबै प्रकारणको सहयोगका लागि तयार छु।’ रोल्पा, रुकुम र प्यूठान हालसम्म पनि केन्द्रीय प्रसारण लाइनमा नजोडिएका कारण उक्त आयोजनाबाट ती तीन जिल्लाले लाभ लिने उनको भनाइ थियो।

प्रसारण लाइन निर्माणपछि सो क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लान राष्ट्रिय प्रसारणमा जोडिने र राष्ट्रिय प्रसारणको बिजुली ती जिल्लामा ल्याउन सकिने भएका कारण आयोजना महत्वपूर्ण रहेको पुनले बताए।

हाल घोराही-खुंग्री १ सय ३२ केभीको प्रसारण लाइन निर्माणको काम धमाधम भइरहेको छ। घोराहीदेखि खुंग्रीसम्म ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन्छ। एसियाली विकास बैंकको २ अर्ब लगानीमा निर्माण निर्माण हुन लागेको उक्त प्रसारण लाइन सम्बन्धी निर्माण सम्झौतामा २४ पुस २०७९ मा हस्ताक्षर भएको थियो।

भारतीय कम्पनी केइसी इन्टरप्राइजेजले सम्झौताअनुसार १ फागुन ०७९ बाट काम थालेको हो। ३० महिना अर्थात १५ भदौ २०८२ मा प्रसारण लाइन निर्माणको काम सम्पन्न गरी बिजुली चार्ज गर्ने सम्झौतामा उल्लेख छ। हालसम्म १५ प्रतिशत भौतिक प्रगति भइसकेको उक्त प्रसारण लाइन आयोजनाका इन्जिनियर प्रदीप खत्रीले जानकारी दिए। रोल्पामा जग्गा अधिग्रहणको काम सकिएको तथा दाङ र प्यूठानको पनि जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएर प्रक्रिया अघि बढेको खत्रीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here