चाेरी भएकाे माेबाइलबाटै यसरी पत्ता लगाए !

13

काठमाडौं । आफ्नो साथी वा परिवारसँग लोकेसन शेयर गर्न सकिने लगायतका अनेकौं फिचर तपाईंले गुगल म्यापमा पाउन सक्नु हुन्छ । एक व्यक्तिले आफ्ना बुबाको चोरी भएको फोनसहितका सामान यही फिचरको सहयोगमा दुई घण्टाभित्र फिर्ता ल्याए ।

उनले ट्वीटरका नामले चिनिने एक्समा उक्त घटनाको विवरण शेयर गरेका छन् । भारतको तमिलनाडुका राज भगत पीले दाबी गरे अनुसार उनका बुबा नगरकोयलदेखि रेलमा त्रिचाई जाँदै थिए ।

एक व्यक्तिले उनका बुबाको मोबाइल फोन र झोला चोरेर भाग्यो । रेलबाट निस्केको चोरले चोरी गरेको मोबाइल फोन अफ गरेको थिएन । भगतका बुबाले अर्को नम्बरमा उनलाई कल गरे र चोरीको घटनाबारे जानकारी गराए । भगतले बताए अनुसार उनका बुबालाई ट्रयाक गर्न परिवारका सदस्यबिच मोबाइलको लोकेसन शेयरिङ इनेबल गरिएको थियो ।

भगतले दाबी गरे अनुसार गुगल म्यापले चोर रेलको लिकमा गतिशील अवस्थामा देखाइरहेको थियो, त्यसबाट उक्त चोर अर्को रेल हुँदै नगरकोयल फर्किरहेको थाहा हुन्थ्यो । भगतले आफ्ना साथीसँग मिलेर म्यापको आधारमा उक्त चोरलाई पच्छ्याए । जब म्यापले चोरको लोकेसन दुई मिटरको दुरीमा देखायो, भगतले सीआईटीयू (सेन्टर अफ इन्डियन ट्रेड युनियन) लेखिएको झोलाको आधारमा चोर पहिचान गरे ।

“मेरो बुबा युनियनका अभियान्ता हुनुहुन्छ । हामीले बस स्टपमा रहेका अन्य व्यक्तिहरूको सहयोगमा उक्त चोरलाई समात्यौं र बुबाको झोला र फोन फिर्ता लियौं,” उनले दाबी गरेका छन् । भगतका अनुसार चोरलाई पक्राउ गरिसकेपछि पुलिसको जिम्मा लगाइयो र फोन र झोलासँगै चार्जर, ब्लुटुथ इयरफोन, चाबी, एक हजार रुपैयाँ भेटियो ।

कसरी शेयर गर्ने लोकेसन ?

कतिपय मानिसहरू एपलाई आफ्नो लोकेसनको पहुँच दिन रुचाउँदैनन् । तर केही व्यक्तिले भने यसलाई आफ्नो र आफ्ना परिवारका सदस्य तथा साथीको सुरक्षाका लागि प्रयोग गरिरहेका हुन्छन् ।

गुगल म्याप र ह्वाट्सएपले आजकल प्रयोगकर्ताका लागि आफ्ना साथी तथा परिवारका सदस्यसँग लोकेसन शेयर गर्न सकिने सुविधा उपलब्ध गराइरहेका छन् । जसबाट यात्राका क्रममा आफ्नो साथी वा परिवारका सदस्य कहाँ आइपुगे भन्ने कुरा ट्रयाक गर्न सकिन्छ ।

लोकेसन बाहेक त्यसबाट फोटो, नाम र मोबाइलमा ब्याट्री कति प्रतिशत बाँकी छ अनि आइपुग्न लाग्ने र हिंडेको समयको बारेमा पनि थाहा हुन्छ ।

 

गुगल म्यापमाः

यसका लागि आफ्नो मोबाइलमा गुगल म्याप खोल्नुहोस् । त्यसपछि माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल तस्विरमा थिच्नुहोस् र त्यसभित्र रहेको लोकेसन शेयरिङमा जानुहोस् ।

अब त्यहाँ रहेको शेयर लोकेसन बटनमा दबाउनुहोस् र कति समयका लागि लोकेशन शेयर गर्न चाहेको हो, सो कुरा उल्लेख गरेर सम्बन्धित व्यक्तिलाई पठाउनुहोस् ।

 

ह्वाट्सएपमाः

ह्वाट्सएप खोल्नुहोस् र जसलाई आफ्नो लोकेसन शेयर गर्न चाहनु भएको हो, उक्त व्यक्तिसँगको च्याटमा जानुहोस् । अब त्यहाँ तल मेसेजबक्समा क्यामेराको सङ्केत अघि रहेको अट्याचमेन्ट आइकनमा थिच्नुहोस् र विभिन्न विकल्प मध्ये लोकेसन रोज्नुहोस् । यति गरिसकेपछि त्यहाँ रहेको शेयर लाइभ लोकेसनमा दबाउनुहोस् र समय निर्धारण गरेर सेन्ड बटन थिच्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here