प्रहरीले विदेश नपठाउने व्यक्तिलाई पक्राउ गर्न थाले

9

खोटाङ  । जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश नपठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।

बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका पीडक पक्राउ अभियान सुरु गरिएको महिनादिनमै सातजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका छन् ।

“पीडितले दिएको जाहेरीको आधारमा आरोपितलाई विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ । उनीहरुले पीडितबाट एक लाख २५ हजारदेखि ३५ लाख २५ हजारसम्म ठगी गरेको पाइएको छ”, उनले भने, “पक्राउ परेकामध्ये केहीले सम्बन्धित व्यक्तिलाई आफूले लिएको पैसाको साँवा÷ब्याज फिर्ता गरेका छन् । फिर्ता गर्न नसकेकालाई पुर्पक्षका लागि जिल्ला कारागार पठाउनेछौँ ।”

गत पुस १७ गतेदेखि माघ मसान्तसम्ममा विभिन्न ठाउँबाट पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको जनाइएको छ । पक्राउपर्नेमा बैङ्किङ कसूरसम्बन्धी ठगीको आरोपमा छ जना र वैदेशिक रोजगारसम्बन्धी ठगीको आरोपमा एकजना रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए ।

बैंकिङ कसूरसम्बन्धी ललितपुर महानगरपालिका–१४ थसिखेल निवासी सुनिता खड्कालाई गत पुस १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । खड्काले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेलको ३५ लाख २५ हजार रकम विभिन्न बहानामा ठगी गरेको पाइएको छ ।

खड्काले आफूले लिएको रकम फिर्ता गर्न तथा धरौटी रकम बुझाउन नसकेपछि माघ–३ गते पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । सस्तोमा घडेरी दिलाइदिन्छु भन्दै ठगी गर्ने खड्कालाई अदालतले रु दश लाख धरौटी तोकेको छ ।

यस्तै, युवराज बस्नेतको जाहेरीले गत माघ–९ गते काठमाडौँ महानगरपालिका–७ काठमाडौँबाट पक्राउ परेका कल्याण खत्रीलाई बैङ्किङ कसूरसम्बन्धीकै अर्को मुद्दामा बिहीबार गौशाला पठाइएको प्रनाउ खड्काले जानकारी दिएका छन् । आरोपित कल्याणले बस्नेतको चार लाख २० हजार रकम लिएर फिर्ता नगरेको जनाइएको छ ।

बस्नेतकै जाहेरीको आधारमा कल्याणका बुबा मोहनकुमार खत्रीलाईसमेत प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते नवलपारासीको सुनवल नगरपालिका–१२ भूमहीबाट पक्राउ परेका मोहनकुमारले समय समयमा विभिन्न व्यक्तिबाट तीन करोड ४० लाख रकम लिएर फिर्ता नगरेको जनाइएको छ ।

दिक्तेलस्थित प्रहरी हिरासतमा रहेका मोहनकुमारलाई जिल्ला अदालत खोटाङको प्रक्रिया पूरा गरेर झापाको बिर्तामोड पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । मोहनकुमारविरुद्ध विर्तामोडबाट ठगी मुद्दासम्बन्धी नै पक्राउ पुर्जी आएको जनाइएको छ ।

पक्राउ परेकामध्ये मोरङको बेलबारी नगरपालिका–१ बेलबारीका सुवास न्यौपाने र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ छोरम्बुस्थित याङ्सोलाका चण्डीकुमार राईले रकम फिर्ता गरेको प्रनाउ खड्काले जानकारी दिए । खगेन्द्र राईको जाहेरीले गत पुस १९ गते पक्राउ परेका न्यौपानेले १५ लाख तथा समिर राईको जाहेरीले माघ १६ गते पक्राउ परेका चण्डीकुमारले एक लाख २५ हजार रकम फिर्ता गरेका हुन् ।

यस्तै, युवराज आचार्यको जाहेरीले गत माघ २७ गते पक्राउ परेका सिन्धुली जिल्लाको दूधौली नगरपालिका–११ राजावास बस्ने उपेन्द्र साह सुरीले दुई लाख ३४ हजार पाँच सय ५० ठगी गरेको जनाइएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित तालखर्क घर भई भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्दै आएका प्रेम पुरी पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ईन्द्रबहादुर खड्का ‘माइकल’ सहित छ जनाको जाहेरीमा गत माघ २१ गते पक्राउ परेका पुरीले आठ लाख ९५ हजार ठगी गरेको आरोप छ ।

विभिन्न समयमा विदेश पठाइदिन्छु भन्दै धरौटीबापत लिएको रकम फिर्ता नगरेपछि कारबाहीको लागि प्रहरीमा उजुरी दिएको माइकलले बताएको छ । पक्राउ परेका पुरीलाई हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी वैदेशिक रोजगारसम्बन्धी ठगीका घटना बढिरहेको पाइएको छ । विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगी वापतको रकम फिर्ता गराउन समस्या हुने गरेको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोषकुमार राईले जानकारी दिएको छ ।

यसैबीच, फरार प्रतिवादी पक्राउ अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले गत साउनदेखि हालसम्म ९८ जनालाई पक्राउ गरिसकेको जनाइएको छ । अभियानका क्रममा ३० वर्षअघिदेखि फरार रहेका प्रतिवादीसमेत पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here