काठमाडौं । नेपालमा पिकलबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । पिकलबल संघ नेपालले यसै महिना ‘नेपाल ओपन इन्टरनेशनल टुर्नामेन्ट–२०२४’ आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपालका अतिरिक्त बेलायत, अमेरिका, भारत, सिंगापुर, थाइल्यान्ड, पोर्चुगल र स्पेनका खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा एक सय २० जना खेलाडीको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी संघका संरक्षक नविन गुरुङले दिए । प्रतियोगिताका लागि सातदोबाटोस्थित टेनिस कोर्टमा १६ वटा पिकलबल कोर्ट तयार पारिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल सुपर लिग (एनएसएल) रहेको छ । विश्व खेलकुदमा पुरानो खेल भएपनि नेपालका लागि भने पिकलबल नयाँ खेल हो । त्यसैले नेपालमा आयोजना हुन लागेको पिकलबलको यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
पिकलबल खेलको सुरुआत भने अमेरिकाबाट भएको हो । पिकलबल खेल टेबलटेनिस, टेनिस र ब्याडमिन्टनको मिश्रित स्वरुप हो ।


















