सरकार परिवर्तन राजनीतिक जात्रा : चित्रबहादुर केसी

13

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले गठबन्धन भत्काउने र सरकार परिवर्तनलाई राजनीतिक जात्रा भइरहेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै अध्यक्ष केसीले राजनीतिक दलहरू सत्ता स्वार्थमा लागेका कारण मुलुक चुर्लुम्म डुबेको बताए ।

उनले भने– ‘यो राजनीतिक जात्राबाट हामी सच्चिऔँ, तपाईँहरू सच्चिनु जरुरी छ । देश विदेशीहरूको क्रिडास्थल भइरहेको छ भन्ने कुरा हामीलाई थाहा छ । तर हाम्रो स्वार्थका कारण मुलुक चुर्लुम्म डुबेको छ, देश अधोगतितिर लागिरहेको छ । यो लोकतन्त्र गणतन्त्र गयो भने तपाईँहरू कहाँ बसेर उफ्रिनुहुन्छ । लोकतन्त्र गणतन्त्रविरुद्ध जनमत बढिरहेको छ, वितृष्णा फैलिरहेको छ । अब हुने प्रतिगमन तेस्रो हुन्छ त्यसलाई सच्याउन हामीले लामो कसरत गर्नुपर्छ ।’

उनले बजारमा फेरि वामपन्थीहरुको एकता भन्ने नारा लागेको भन्दै आश्चर्य व्यक्त गरे । उनले वामपन्थी भनेपछि सिद्धान्त, कार्यक्रम, आचरण प्रवृत्ति हुनुपर्दैन भन्दै प्रश्न गरे ।उनले ‘नाम बाम पन्थी, काम खाम पन्थी, भन्दै कटाक्ष गरे । केसीले अहिले सहकारीमा ब्रह्मलुट मच्चाउने ब्यक्तिनै मन्त्री भएर आएको बताउँदै व्यक्तिको चरित्र कस्तो छ त्यसमा मतलब नगरी कसलाई मिसाउँदा सत्ता बलियो हुन्छ त्यसमा लागेको टिप्पणी गरे ।

बैठकमा अध्यक्ष केसीले सहकारी पीडितहरूले कसरी न्याय पाउँछन् भनेर पनि प्रश्न गरे । राजनीतिक दलहरूका नाम र व्यवहार मेल नखाएको भन्दै उनले आलोचना पनि गरेका छन् । ‘अहिले जो सरकार बनेको छ, त्यो सरकारमा कस्ता कस्ता मान्छे आए ? सहकारीको यस्ता चर्का कुरा गर्नुहुन्छ तपाईंहरू, अब त्यो जसले सहकारीको नाममा ब्रह्मलुट मच्चाएको छ तिनी महानुभावलाई सहकारी मन्त्री बनाउनुस् त,’ उनले भने, ‘नेपाली जनता सहकारीबाट लुटिएका छन् । अनि ती पीडितले न्याय पाउँछन् ?’

मन्त्री भएकाहरूको विगत के थियो र भविष्यमा के गर्नेछन् भन्ने छर्लंग रहेको पनि केसीको भनाइ थियो । ‘कसले बुझ्या छैन कुन मान्छेको चरित्र, इतिहास के छ ?,’ उनले भने । प्रधानमन्त्री दाहाललाई भने आफ्नो पद जोगाउनुपर्ने भएकाले त्यस्ता कुराहरूसँग मतलब नराखेको केसीको भनाइ थियो ।

व्यवस्था संघीय भएपनि राजनीतिक दलहरूको व्यवहार त्यस्तो नरहेको केसीको भनाइ थियो । एक सालमा तीनवटा गठबन्धन फेरिँदा जनतामा राजनीतिप्रति वितिष्णा पैदा भएको पनि केसीको भनाइ थियो । यस्तो व्यवहारले संघर्षबाट ल्याएको लोकतन्त्रिक गणतन्त्रमाथि कालोबादल मडारिएको केसीको भनाइ थियो । ‘जनतालाई निराश नपारौं, विगतमा गरेका गल्तीका लागि सार्वजनिक रूपमा आत्मआलोचित हुनुपर्छ,’ उनले भने ।

उनले लोकतन्त्र ल्याएपछि कहाँ कहाँ कसले गल्ती गरेको छ सच्याउन आग्रह गर्दै सत्ता जाने र भ्रष्टाचार गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here