काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अध्यक्षमा आफूले पाएको भूमिका प्रधानमन्त्री पुष्पकमल दाहालसँग व्यक्तिगत रुपमा नरहेको जनाएका छन्।
बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो जनाएका हुन्। उनले आफूले जनतालाई धोका हुने र पछुतो हुने कुनै काम नगरेको पनि स्पष्ट पारे।
उनले आफूले प्राप्त गरेको भुमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको आफूले पाएको जनाए। उनले आफूहरुको सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा नभएको जनाए। उनले प्रधानमन्त्री दाहाल र आफ्नो सम्बन्ध विचार केन्द्रित सहकर्मीको रुपमा मात्रै रहेको जनाए।
उनले भने, ‘मैले सम्झेसम्म जनतालाई धोका हुने र पछुतो हुने कुनै काम गरेको छैन। मैले प्राप्त गरेको भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु। तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रुपमा थिएन र छैन। हाम्रो सम्बन्ध सधैँभर विचार केन्द्रित सहकर्मीको रुपमा रहेको छ।’
उनले अध्यक्षमा मनोनयन भएपछि नै आफूले आफ्नो दलीय आवद्धता र संलग्नता त्याग गरेको जनाए।


















