काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायमान बनाउनुपर्ने बताएका हुन् ।
पुनले राष्ट्र बैंक सञ्चालक समितिका ७ मध्ये ४ जना अर्थात् बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै सरकारमा बस्नेले गभर्नरलाई आरोपित गर्न नमिल्ने स्पष्ट गरे ।
‘सरकार अर्थसचिव आफैँले बोर्डमा पठाउने । तीन जना अरू स्वतन्त्र विज्ञहरू बोर्डमा पठाउने । ७ मध्ये चार जना बहुमत लिएर बसेर गभर्नरलाई आरोपित गर्नु आफ्नो अयोग्यता र कमजोरी ढाकछोप गर्नु हो’, उनले भने, ‘ यदि हामीले पठाएका सञ्चालक र सचिव योग्यतम वा ठीक छैनन् भने फिर्ता गर्ने या गभर्नर र डेपुटी गभर्नरसँग संवाद गरेर समस्याको समाधान गर्ने हो ।’ राष्ट्र बैंको काम राजनीतिक नेतृत्वको भिजनलाई आफ्नो विज्ञतामार्फत कार्यान्यवन गर्नु हुने पनि मन्त्री पुनले स्पष्ट गरे । ठूलठूला युद्धमा रहेका मुलुकका बिचमा समेत युद्ध रोक्न वार्ता हुने गरेको चर्चा गर्दै पुनले मुलुकको हितमा काम गर्ने उद्देश्यले अर्थमन्त्री र गभर्नरका बिचमा समस्या आए तत्काल संवादमार्फत समाधान खोज्न सकिने बताए । ‘लोकतन्त्रमा समस्या आए संवाद गर्ने हो । ठूलठूला युद्धमा रहेका देशले त संवाद गर्छन् । प्रतिस्पर्धीबिच पनि संवाद हुन्छ । हामी त प्रतिस्पर्धी होइनौँ नि ?’, उनले भने ।


















