काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र कांग्रेसले संविधान संशोधन नभएर खारेज गर्न चाहेको आरोप लगाएका छन् । आज (बुधबार) सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा प्रचण्डले एमालेले संविधानको संशोधन नभएर खारेजीको पक्षमा रहेको बताए । ‘एमाले नेतृत्वलाई सुरुदेखि नै संविधान मन परेको थिएन । त्यसैले उसको चाहना संशोधन होइन खारेजी हो,’ प्रचण्डले भने ।
उनले एमाले नेतृत्वलाई संघीयता र गणतन्त्र मन नपरेको बताए । ‘एमालेलाई संघीयता र गणतन्त्र धेरै मन परेको छैन, बयलगाडा सिन्द्धान्त हो उहाँहरूको,’ प्रचण्डले भने, ‘हिजो पनि संसद विघटन होइन, संविधान विघटन हो ।’ उनले यो सरकार संविधान संशोधनका लागि नबनेको बताए । बरु, आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएकाले नयाँ गठबन्धन बनेको उनको भनाइ छ । ‘यो सरकारको संविधान संशोधन उद्देश्य होइन । सुशासन र भ्रष्टाचारविरुद्ध काम गरेपछि अप्ठेरोमा पर्ने भइयो भनेर बनेको हो,’ उनले भने ।
प्रचण्डले संकट टार्नका लागि दुई ठूला दल मिलेर गठबन्धन नबनेको पनि दाबी गरे । ‘संसदमा पनि बाहिर पनि भनेको छु । संकट त छ । पहिलो र दोस्रो दल मिले,’ प्रचण्डले भने, ‘संकट टार्न खोजेको भए लुकाउनु पर्ने, ढाँट्नुपर्ने थिएन । संसदीय राजनीतिमा यस्तो नहुनुपर्ने । संकट त्यही छ ।’ संविधान संशोधनको विपक्षमा आफूहरू नभए पनि अहिले कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । ‘अहिले नै संशोधन भन्दा पनि कार्यान्वयन भन्ने छ । उहाँहरूले संशोधनलाई बहाना बनाएर संकट निम्त्याउने हो ।’
‘राजतन्त्र फर्किने कुनै सम्भावना छैन’
अध्यक्ष प्रचण्डले अहिले राजतन्त्र फर्किन सम्भव नै नभएको बताएका छन् । पूर्व राजाको भुटान भ्रमण आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भए पनि कतैबाट हेर्दा पनि राजतन्त्र फर्किने सम्भावना नरहेको उनको भनाई छ । उनले भने, ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन । कतैबाट हेर्दा पनि त्यो सम्भव छैन ।’ उनले इतिहासको विकासको दृष्टिकोण, पूर्वराज र उनको परिवारको कारणले पनि राजतन्त्र फर्किहाल्ने अवस्था नभएको बताए ।
उनले भने, ‘इतिहासको विकासको दृष्टिकोणलेले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौँ । गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवाद बाहेक हुँदैन । राजा र उनको परिवारको कारण ले पनि सम्भव छैन ।’


















