काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने जनाएकी छन्।
सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा बोल्दै उनले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको जनाएकी हुन्।
उनले मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको जनाइन्। उनले सबैजना एकाकार भएर फौजी तरिकाले कम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने जनाइन्।
मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी रहेको बताइन्। उनले सुन्तलालाई चाँडै नै मन्त्रिपरिषद्को पारित गर्न लागेको उल्लेख गरिन्।
उनले भनिन्, ‘सुन्तलाको हिसाबले पनि म केही दिनमा मन्त्रिपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु। किनकि नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ। त्यो फल खान पनि सजिलो छ। गाडीमा बस्दाखेरी पनि अब ५/६ जना बसे पनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन। त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दै छु। त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु।’


















