काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका व्यक्तिमाथि संसदीय छानबिन समिति गठनको विकल्प नभएको बताएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राख्दै आएको कांग्रेसले यसैलाई ‘बटमलाइन’ बनाएको छ । ‘भोलि बिहान ७ बजे बानेश्वरको ल्होत्से हलमा संसदीय कार्यसमितिको बैठक बस्छ । त्यसपछि ९ बजे संसदीय दलको बैठक बस्छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामीले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत छ । हामीले अरुपनि निर्णय गर्छौं ।’
कांग्रेसले सहकारी ठगीमा मन्त्रीहरूको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कुरा सुनिसकेको भन्दै गृहमन्त्री लामिछानेको कुरा सुन्नुको कुनै अर्थ नभएको लेखकले बताए । संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने लेखकको भनाई छ ।


















