सम्प्रदाय लक्षित सामग्रीको प्रसारण नगर्न आग्रह

52

काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै व्यूरोले जाति, सम्प्रदाय, समुदायबीचको सम्बन्धमा खलल् पार्ने कुनै पनि सामग्री सञ्जालमा प्रकाशन, प्रसारण तथा सेयर नगर्न आग्रह गरेको हो ।

कुनै जात, समुदाय, सम्प्रदाय लक्षित सामग्रीको प्रसारणले सामाजिक सद्भावमा खलल् पुग्ने, शान्तिपूर्ण वातावरण बिथोलिन सक्ने भएकाले जिम्मेवार नागरिकको भूमिका निभाउन प्रहरीले अनुरोध गरेको छ ।

समुदाय लक्षित सामग्री कुनै पनि सामाजिक सञ्जालमा आए लाइक, कमेन्ट, ट्याग, तथा सेयर नगर्न पनि प्रहरीले आग्रह गरेको छ । यसरी आएको सामग्री लाइक, कमेन्ट तथा सेयर गर्दा झन् धेरै फैलिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले सद्भाव बिथोल्ने खालका सामग्री देखेमा उक्त सञ्जालमा ‘रिपोर्ट’ गरेर हटाउन सक्ने सुविधा हुन्छ ।

‘कानुनले प्रतिबन्ध गरेका विषय, शिष्टाचार विरुद्धका विषय, घृणा द्धेष फैलाउने सामग्रीहरू प्रकाशन गर्ने, लाइक गर्ने ट्याग गर्ने, कमेन्ट गर्ने र रिपोष्ट गर्ने गतिविधि बढेकाले यस व्यूरोको गम्भीर ध्यानकर्षण भएको छ’ व्यूरोले भनेको छ, ‘यस्ता गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने अनुरोध गरिन्छ ।’

साइबर व्यूरोले विद्युतीय माध्यमको प्रयोग गरी सामाजिक सद्भाव बिथोल्ने काम गरेको पाइए विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here