तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको जनाएका छन्। विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधान सभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको उल्लेख गरे।
‘यसको लागि पहिलो सर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो। जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य छ,’ राष्ट्रपति पौडेलले भने।
तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा राखे।
आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन संघर्षका दिनहरूमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसदमा प्रतिनिधित्व गर्ने शुभ अवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमासमेत योगदान दिने अवसर प्राप्त भएको उनले स्मरण गरे।
















