काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको आरोप लगाएका छन्। सोमबार एमालेको संसदीय दलको बैठकमा बोल्दै ओलीले कांग्रेससहितको गठबन्धनलाई सघाएको भन्दै एकीकृत समाजवादीको आलोचना गरेका हुन्।
एकीकृत समाजवादीले आफूहरूसँग(एमाले- माओवादी केन्द्रको गठबन्धन) हुँदा सुदूरपश्चिमको मुख्यमन्त्रीमा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नचाहेको तर कांग्रेसको समीकरणबाट भने सुरुमै दिएको भन्दै ओलीले कटाक्ष गरे। एकीकृत समाजवादीको निर्णयलाई कांग्रेसलाई जिताउने र आफूहरूको समीकरणलाई कमजोर बनाउने प्रयत्नको रुपमा ओलीले चर्चा गरे।
‘सही दिशामा राजनीति फर्किँदै थियो। अहिले विपक्षीहरूको आशा पलाउने गरी, जनतामा आशंका, अन्यौल र निराशा केही मात्रामा भए पनि पैदा हुने गरी त्यस पार्टीले कदम चाल्यो’, ओलीले भने।
ओलीले आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली, व्यवहार, बार्गेनिङ त्यस्तै खालको भए पनि हिजो भने बाहिर नै प्रकट भएको बताए। भने, ‘एकीकृत समाजवादीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो। यस्तो नहुनुपर्ने थियो।’
आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउने निर्णय लिएको थियो। त्यस अनुसार नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर नेता कैलाश चौधरीले दाबी प्रस्तुत गर्दै थिए। तर उनले दाबी प्रस्तुत गर्नुअघि नै सुदूरपश्चिममा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्ष र एकीकृत समाजवादीले सहमति गरी रेशम पक्षधर लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए। आइतबार त्यहाँ दुई वटा समीकरणबाट नागरिक उन्मुक्तिकै दुई नेताले दाबी प्रस्तुत गरेका छन्।

















