काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको सङ्गठित सदस्यतालगायत वैशाख ३ गतेभित्र सङ्कलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ ।
सङ्गठित पार्टी सदस्यको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ । वैशाख ३० गतेदेखि जेठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नुपर्ने तालिका सार्वजनिक गरिएको छ ।
यसैगरी, मधेस प्रदेश सरकारका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।
गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
सङ्गठित पार्टी सदस्यताको विवरण पठाउँदा पार्टी सदस्यता प्राप्त गरेको मिति छुट्न गएको वा उल्लेख नभएको खण्डमा त्यस्ता सङ्गठित सदस्यको सदस्यता प्राप्त मितिसहितको विवरण सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिने र सम्बन्धित प्रदेशले सङ्गठन विभागमा यथाशीघ्र पठाउनुपर्ने जसपाले जनाएको छ ।

















