काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने जनाएका छन्। शुक्रबार राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा रहेकाले मुलुकको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने जनाए।
उनले करिब ६०० मेगावाट थप जलविद्युत उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उल्लेख गरे। गभर्नर अधिकारीले सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक मागमा शिथिलता आएको दाबी गरे।
उनले खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित देखिएको बताए। गभर्नर अधिकारीले रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उत्तारचढाव आउनसक्ने जोखिम कायमै रहेको जनाए।
उनले आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ, मौसम अनुकूल र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिएको उल्लेख गरे। आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा हुँदा निष्क्रिय कर्जा अनुपातमा वृद्धि भएको बताए।
उनले चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको बताए। उनले फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत रहेको र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेको भन्दै नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ र सुरक्षित अवस्थामा रहेको दाबी गरे।
गभर्नर अधिकारीले चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आएको जानकारी दिए। निक्षेप तथा कर्जाका ब्याजदर घट्दो क्रममा रहेका रहेको उनको भनाइ छ।
गभर्नर अधिकारीले शोधनान्तर वचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको उल्लेख गरे। उनले राष्ट्र बैंकले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै जाँदा आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको विश्वास व्यक्त गरे।
उनले बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित भई निष्क्रिय कर्जा अनुपात बढ्दै गएको बताए। उनले बैंकिङ प्रणालीमा तरलता सहज भएको र कर्जाका ब्याजदरसमेत क्रमशः घट्दै गएकाले आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने अपेक्षा राष्ट्र बैंकको रहेको जनाए।
उनले अहिलेको अर्थतन्त्र मिश्रित अवस्थामा रहेको बताए। उनले अघिल्लो आर्थिक वर्षजस्तै चालु आर्थिक वर्षमा पनि विप्रेषण आप्रवाह उच्च रहेको उल्लेख गरे।
गभर्नर अधिकारीले विप्रेषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटेकोले चालु खाता एवं शोधनान्तर वचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको बताए। उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार सिर्जना भएको दाबी गरे।


















