काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको लागि पहिलो चरणमा पाँच विदेशी संस्था सर्ट लिस्टमा परेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गर्न लागिएको लेखा परीक्षणका लागि नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखा परीक्षक प्रारम्भिक छनोटमा परेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
जसमा नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानीका सिएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स छनोटमा परेका छन्। भारतको केपिएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपिएमजी तसिर हादी एण्ड कम्पनी पनि छनोटमा परेका छन्।
यस्ता लेखापरीक्षकको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत अंक भार दिइएको थियो। कम्तीमा ७० प्रतिशत अंक भार प्राप्त गर्ने आशयपत्र मात्रै बोलकबोल प्रतिस्पर्धाको लागि योग्य हुने व्यवस्था थियो।

















