लन्डन । नेपाल इङ्ल्यान्डको ‘सी’ टोलीसँग पराजित भएको छ। सोमबार इङ्ल्यान्डको अल्डरसट टाउन एफसीको ईबीबी रंगशालामा भएको खेलमा नेपाल २–० गोलले पराजित भएको हो। नेपाल खेलको सुरुवाती समयमै दुई गोलले पछि परेको थियो।
आठौं मिनेटमा निक काबाम्बाले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १३औं मिनेटमा क्यालाम स्टेडले इङ्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए।
८ हजार क्षमताको रंगशाला दर्शकले भरिभराउ थियो। जसमध्ये झण्डै ९० प्रतिशत नेपाली दर्शकले खेल अवधिभर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए ।
खेल शुरु हुनुपूर्व बेलायतस्थित सयपत्री कल्चरल समूहका कलाकारले मौलिक नेपाली नाच देखाएका थिए भने गायिका आनी छोइङ ड्रोल्माले नेपाली राष्ट्रिय गान प्रस्तुत गरेकी थिइन्।
अल्डरसट टाउन फुटबल क्लबले एफए र नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो। नेपालले खेल नजितेपनि फुटबलको जननी भूमिमा आएर खेल्ने पहिलो अवसरलाई ऐतिहासिक उपलब्धि मानिएको छ ।
नेपालले यसअघि शनिबार ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। फिफा विश्वकप र एएफसी एसिया कप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि नेपाली टोली बेलायत पुगेको हो।
नेपालले जेठ २४ गते घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्ने तय भएपनि त्यो खेल नेपालमा नहुने सम्भावना बढेको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्न नपाउने सम्भावना बढेको हो। एफसीले प्रारम्भिक चरणमा पिच, फ्लडलाइटका विषयमा प्रश्न उठाएको अखिल नेपाल फुटबल संघले जनाएको छ।


















