काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक चलिरहेकाले सभामुख देवराज घिमिरेले बैठक २ बजेका लागि सारेका हुन् ।
कार्यदलको कार्यक्षेत्रको टुंगो लागेर समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको नियमित कार्यसूचीमा प्रवेश गर्न दिने विपक्षी दलहरूले निर्णय गरेका छन् । संसद् भवनमा विपक्षी दलको बैठकपछि कार्यादलमा रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि कानुनमन्त्रीको कार्यकक्षमा भइरहेको बैठकमा पुगेका छन् ।
छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई विपक्षीले आग्रह गरेका छन् । विपक्षी बैठकपछि राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाही सभामुखको कार्यकक्षमा गएर बैठक अघि नबढाउन आग्रह गरेका थिए ।



















