काठमाडौं । सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वसाशित क्षेत्र तिब्बत बिचको सीमामा रहेको सहायक सीमा स्तम्भ नं. २ को अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज पन्तको कमान्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सुरक्षा फौज १७ गते बिहान सीमा स्तम्भ भएको स्थानमा पुगेको थियो ।
साइपाल गाउँपालिका–४ धुलिसम्म मानव बस्ती रहेको स्थानबाट ३ दिन पैदल यात्रा पछिमात्र पुग्न सकिने सीमास्तम्भ सदरमुकामबाट १ सय १७ किलोमिटरको दुरिमा रहेको छ । सदरमुकामबाट २८ किलोमिटर सवारी साधनमा गएको फौज बाँकी पैदल गएको थियो ।
सीमा स्तम्भ भएको स्थानसम्म पुग्न सशस्त्र प्रहरीको टोली बीचबीचमा पाल टाँगेर बसेको थियो ।
















