काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई काम गर्न दिन माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेजुवालले केही दिन अघिदेखि काठमाडौं महानगरपालिका र सङ्घीय सरकारबीच विवाद चुलिएको जनाउँदै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारअनुसार काम गर्न दिन आग्रह गरेकी हुन्।
उनले स्थानीय सरकारले स्थानीय सरकारलाई काम गर्न नदिने हो भने सरकार सञ्चालन ऐन, २०७४ खारेज गर्न माग गरिन्। उनले संघीय सरकारको भौतिक मन्त्रालयसँग पैसा बढी भए कर्णालीमा मृत्यु मार्गको रूपमा रहेका राजमार्गमा पैसा लगानी गर्न माग गरिन्।
यता नेकपा एमालेका सांसद किरणकुमार साहले भने स्थानीय तहलाई दिएको असिमित अधिकार कटौती गर्न माग गरे। उनले संघीयतामा प्रदेशिक संरचनालाई कमजोर बनाउने वदनियतका साथ संवैधानिक रुपमा स्थानीय निकायलाई शक्तिशाली बनाउँदा त्यसको दुष्परिणाम संघ सरकारले भोग्नुपरेको जनाए ।
उनले संघीय सरकारका मातहतमा रहेको सडक महानगरले भत्काउने र संघले बनाउने काम भइरहेको छ भने धरान उपहानगरले हवाई कानुनसमेत नमान्ने भन्दै आफै विमानस्थल बनाउनेजस्ता कुराहरु गर्ने काम भएको बताए। उनले राजधानी काठमाडौं उपत्यकालाई छुट्टै प्रदेश बनाउनसमेत माग गरे।
नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले धार्मिक पर्यटकीय केन्द्रको रुपमा रहेको गौतमबुद्धको जन्मस्थल लुम्बीनी क्षेत्रको गुरुयोजना निर्माण कार्य बजेट अभावका कारण समयमा सम्पन्न नहुँदा अलपत्र परेको भन्दै तत्काल बजेटको व्यवस्था गर्न माग गरिन्। उनले विश्व सम्पदा सूचीमा सूचीकृत हुनुका साथै २०७१ सालमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखिएको लुम्बीनी क्षेत्रलाई पवित्र तीर्थस्थलको रुपमा विकास गरी शो क्षेत्रमा विश्वभरबाट धार्मिक पर्यटक भित्र्याउन गुरुयोजनाले लिएको लक्ष्यअनुसारको काम सक्न १३ अर्ब लागत लाग्नेमा हालसम्म ७ अर्ब मात्रै बजेट गएकाले जनाए ।
नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले क्रिकेटर सन्दीप लामिछाने अमेरिकामा टी–२० विश्वकप खेल्न जान खोज्दा अमेरिकाले भिसा नदिनु सरकारको समन्वय कमी भएको बताइन्। उनले सरकारको समन्वयको कमीलगायत अन्य कोणबाट दुवै देशलाई असर पर्ने नकारात्मक टिप्पणी आइरहेको भन्दै यसको वास्तविकताबारे परराष्ट्रमन्त्री र खेलकुद मन्त्रीसँग जवाफ माग गरे।
नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले मुलुकका जनताले बत्ती बाल्न पाएपछि मात्रै विद्युत निर्यात गर्न आवश्यक रहेको जनाए । उनले मुलुकका जनता र व्यवसायीहरुले १० देखि १२ घण्टा लोडसेडिङ भोगेर विद्युत निर्यात गर्नुको औचित्व नभएको जनाए । उनले नेपालको विजुली निर्यात गर्ने पैसा कमाउनेभन्दा हरेक नेपाली खुशी भए पनि १० देखि १२ घण्टा लोडसेडिङ हुँदा समस्या भइरहेको जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उद्योगी व्यवसायीहरुलाई निर्यात गरेबापत दिने भनिएको अनुदान रकम प्राप्त गर्न नसक्दा धेरै निर्यात व्यवसायीहरुले गुनासो गरेको जनाए । उनले चालु आर्थिक वर्षभित्र सरकारले घोषणा गरेको अनुदान रकम निर्यात व्यवसायीहरुलाई रकम निकासा दिन माग गरे।
नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले ५०० र १००० हजारको नोटमा गौतम बुद्धको तस्बीर राख्न माग गरे। उनले नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा भगवानको तस्बीर राख्न नेपाल सरकारसँग जोडदार माग गरे।
नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले मुलुक कृषिप्रधान देश भएकाले कृषिको उत्पादन बढाउने र रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने कुरा गर्ने गरेको बताइन्। उनले कृषिप्रधान देशमा धान रोपाइँको समय सुरु हुन लाग्दा किसानले मल नपाएको गुनासो तथा सिंचाइको लागि आकाशको भर पर्नुपर्ने बाध्यता रहेको जनाइन्।

















