सुर्खेत । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मुसिकोट नगरपालिका-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी नेपानेमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जीप सडकबाट खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।
विक र खनालको अवस्था गम्भीर छ। उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। अर्का घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।


















