काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।
मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।
‘अब विश्वविद्यालयले अनुगमन गरेर भौतिक पूर्वाधार, फ्याकल्टीहरू सबै हेर्नेछ । त्यो क्रममा आयोगको टोली पनि जान्छ । भौतिक पूर्वाधार लगायतका विषय हेरेर सम्बन्धन पाएपछि सिट निर्धारण गरिन्छ,’ सदस्य–सचिव काप्रीले भने ।
भौतिक पूर्वाधार लगायतका अन्य क्षमता हेरेर कति सिट तोक्ने भनेर आयोगको सिट निर्धारण समितिले तोक्ने उनको भनाइ छ । सर्वोच्च अदालतले जेठ २४ गते काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमादेश जारी गर्दै १५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो । यही शैक्षिक सत्रबाट पठनपाठन गर्न पाउनेगरी व्यवस्था मिलाउन भनेको थियो ।
उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले आयोगलाई सम्बन्धन दिनका लागि लेखी पठाउने निर्णय गरेको थियो । सोही आधारमा मंगलबार बसेको आयोगको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।
बीएण्डसीले २०६४ सालमा नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आशय पत्र लिएको थियो । आशय पत्र लिएर पूर्वाधार तयार पारेर सञ्चालनको तयारी गरेको थियो । तर, २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएपछि सम्बन्धन पाउन सकेको थिएन । त्यसपछि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँ सर्वोच्च पुगेका थिए ।


















