सीमालाई व्यवस्थित गर्न पासपोर्ट सिस्टममा जानैपर्छ : सांसद रघुजी पन्त

34

काठमाडौं ।  नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएकाले तराईमा आपराधिक घटना बढेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले सीमानामा काँडेतार लगाएर विस्तारै पासपोर्ट प्रणालीमा जानुपर्ने जनाएका हुन् ।

उनले नेपाल-भारतबीच अहिले खुला सिमाना भएकाले अपराध नियन्त्रणका लागि सीमालाई व्यवस्थित गर्नुपर्ने धारणा राखे।

‘केहि दिनदेखि लगातार तराईमा मानिसहरु मारिएका, दिउँसै गोली हालेको समाचार आइरहेका छन्। यसको मूल कारण खुला सीमाना हो। त्यसैले खुला सीमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ र नियन्त्रण गर्नैपर्छ। हामी एकैचोटी पासपोर्टको सिस्टममा लागू गर्ने चरणमा नजाऔंला। तर,अहिले अचेल राष्ट्रिय परिचय पत्र दिन थालिएको छ र नागरिकता पनि दिन थालिएको छ। उताबाट आउँदा पनि भारतसँग आइडी कार्ड, आधार कार्ड हेर्न सकिन्छ, यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ।’ पन्तले भन‍े,‘विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै, सीमालाई व्यवस्थित गर्दै, यो पासपोर्ट सिस्टममा हामीले जानैपर्छ।’

सीमा व्यवस्थापन गर्न सशस्त्र प्रहरीलाई साधन र स्रोत, जवानहरु र आवश्यक सुविधा दिनुपर्ने उनको प्रस्ताव छ । ‘यसका लागि सशस्त्र प्रहरी बललाई साधन, स्रोतहरु, जवानहरु र अरु आवश्यक सुविधा दिनुपर्छ। किनभने जहाँ-जहाँ सशस्त्र प्रहरी बल बसेको छ त्यहाँ सीमा सुरक्षित भएको छ र त्यहाँका मान्छेहरुले सुरक्षित फिल गरेका छन्। त्यसैले तराईंमा बिग्रिएको सुरक्षालाई ध्यानमा राखेर आन्तरिक रुपमा शान्तिसुरक्षाका लागि नेपाल प्रहरी र सीमाका लागि सुरक्षा प्रहरी विशेष रुपले परिचालन गर्नुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here