काठमाडौं । प्रतिनिधि सभा सदस्य रोशन कार्कीले रसियामा भएका नेपालीहरुको फिर्ताका लागि अहिलेसम्म कुटनीतिक पहलको काम के भइरहेको छ भन्दै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठक खर्च कटौतीको प्रस्तावमाथि बोल्दै सांसद कार्कीले २५ जना युवाहरुले ज्यान गुमाइसकेको र कतिको ज्यान गएपछि उद्धारको लागि पहल हुन्छ भन्दै प्रश्न गरेकी हुन्।
उनले भनिन्, ‘२५ जना त मरिसके रसियामा। अझै कति मरिसकेपछि कुटनीतिक पहल हुन्छ। त्यहाँ गएकाहरुलाई फिर्ता ल्याउन के पहल भइरहेको छ?’
यस्तै उनले हाल पाँच जना नेपाली युवाहरु त्यहाँ बन्धक रहेको र उनीहरुको रिहाइका लागि के पहल भइरहेको छ भन्दै मन्त्री श्रेष्ठसँग जवाफ मागिन्। उनले भनिन्, ‘पाँच जना बन्धक छन् उनीहरुका लागि के भयो। यदि गरेर पनि सुनुवाइ भएको छैन भने परराष्ट्रको कुटनीति असफल भयो।’
यस्तै सांसद कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड जाँदा त्यहाँ भएको भेटवार्तामा देखिएको दृश्य नेपाली जनताको शीर निहुरिने खालको भएको टिप्पणीसमेत गरिन्।


















