काठमाडौं । भारतमा चरम गर्मीका कारण ३ सय ७१ भन्दा बढीको ज्यान गएकाे छ । धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् ।
हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइन्छ । तर चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् । अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।
यसैगरी उत्तर प्रदेशमा १८ जुनमा मात्रै १७० जनाको ज्यान गएकाे हिट स्ट्रोकका कारण भएको थियो । उत्तर प्रदेशका धेरैजसो राज्यहरुमा अधिकतम तापक्रम ४७–४८ डिग्री सेल्सियससम्म पुगेको थियो ।
बिरामीको चाप थेग्न नसकेपछि गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेर अन्यलाई औषधि दिएर घर पठाउने गरिएको छ ।
मनसुन भित्रिनु अघिसम्म भारतका अधिकांश शहरमा अत्यधिक गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको थियो । कतिपय शहरमा अधिकतम तापक्रम ५० सम्म पुगेको समाचारहरु सार्वजनिक भएका थिए । गर्मीका कारण कतिपयले बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाएका छन् । सवारी साधनका चालक र कण्डक्टरहरुको पनि ज्यान गुमेको छ । भारतको परिवहन निगमका तीन चालक र एक कन्डक्टरको यात्राको क्रममा ज्यान गएकाे छ । यस्तो मृत्युको सर्वाधिक आँकडा गाजियावादमा छ । त्यहाँ १८ जुनमा ३० र १९ जुनमा १४ जनाको ज्यान गएकाे थियाे ।
मृत्युको बढ्दो संख्याका कारण चिहान घाट, शवदाहगृह र पोष्टमार्टममा समेत पालो कुर्नुपर्ने बाध्यता छ । नायडा, गाजियावाद, प्रयागराजमा यस्तो स्थिति छ । प्रयागराजमा १८ जुनको दिन एसआरएन अस्पतालमा शव राख्ने फ्रिजहरु भरिएपछि बाहिरै शवको खात लगाएर राखिएको थियो ।
अमर उजालाको एक रिपोर्ट अनुसार १८ जुनमा प्रयागराज शहरका अलग अलग शवदाह गृहमा यति धेरै शवहरु ल्याइएको थियो कि सडकसमेत जाम भएको थियो । त्यहाँका चार प्रमुख श्मशान घाटमा २४ घण्टाको अवधिमा ४०० धेरै शव अन्तिम संस्कारका लागि ल्याइएको थियो । ती शवहरु वृद्धवृद्धा र युवाहरुको समेत थियो ।
बेवारिसे शवको अन्तिम संस्कार गराउँदै आएकी लखनउकी समाजसेवी वर्षा बर्माले भनेकी छन्, ‘एक महिनायता बेवारिसे शवको संख्या तीन गुणाले बढेको छ । यद्यपि सबैको मृत्यु गर्मीकै कारण भएको भन्न त सकिन्न तर मृतकको संख्या बढ्नुको एक प्रमुख कारण गर्मी पनि हो ।’


















