गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने गरेका छन् ।
चामेका पर्यटन व्यवसायी फुर्वा लामाले मनाङवासीको मुख्य आयआर्जनको स्रोत पर्यटन व्यवसाय रहेको बताए । “अहिले ‘अफसिजन’ भएकाले पर्यटकीय गतिविधि कम छ, व्यवसायीहरू फुर्सदिला छन्”, उनले भने, “जाडो याममा व्यवसायीहरू होटल बन्द गरेर काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने गर्छन् ।” सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको लामाको अनुभव छ ।
हिमालपारिको जिल्ला मनाङ हुँदै पाँच हजार चार सय मिटरको उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने पर्यटक अधिक हुने गरेको ‘एक्याप’ मनाङका प्रमुख भुजेलले बताए । कतिपय पर्यटक लार्के भञ्ज्याङ काटेर गोरखाको मनास्लु क्षेत्र पुग्ने गरेको उनको भनाइ छ ।
आन्तरिक पर्यटक बढीजसो तिलिचो ताल घुम्न आउने गरेका छन् । ङिस्याङ गाउँपालिका–२ मा पर्ने तिलिचो ताल समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडकको पहुँच विस्तारसँगै पदयात्रामा आधारित मनाङको पर्यटन सङ्कटमा परिरहेको बताए । “यहाँ आउने पदयात्री पर्यटक हुन्, सडकले पदमात्र छोटिएका र भत्किएका छन्, अब वैकल्पिक पदमार्ग बनाउनुपर्छ, सङ्घ र प्रदेश सरकारले यस विषयमा सोचोस्”, उनले भने ।


















