काठमाडाैं । गत वर्षको बैशाख १ गते चलचित्र ‘बुलाकी’ प्रदर्शनमा आएको थियो । तर, यही मिति प्रदर्शन भएको चलचित्र ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि निर्माताले दुई दिनमै फिल्म हलबाट उतारेका थिए । अब आगामी साउन ३२ गतेबाट चलचित्रलाई पुनः प्रदर्शन गरिने भएको छ । भदौ ३ जनै पूर्णिमा र भदौ ४ गते गाईजात्राको सार्वजनिक विदालाई लक्षित गर्दै चलचित्रलाई प्रदर्शन गर्न लागिएको हो ।
‘बुलाकी’का निर्माता तथा अभिनेता विराज विष्टले सोमबार बक्तव्यमार्फत चलचित्रमा देखिएका कमी-कमजोरीलाई सुधार्दै थप उत्कृष्ट बनाएर प्रदर्शन गर्न लागिएको जनाएका छन् । ‘कर्णाली तथा सुदूरपश्चिम भेगमा विद्धमान जारी प्रथाको यथार्थ कथालाई अघिल्लो पटकभन्दा परिस्कृत गर्दै र देखिएका कमी-कमजोरीलाई सुधार गर्दै चलचित्रलाई थप उत्कृष्ट बनाएर ल्याउँदैछौँ,’ उनले भनेका छन् ।
गत वर्ष चलचित्रलाई दुई दिनमै उतार्ने निर्णय लिएपछि निर्माता विष्टले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त हुँदा समेत हल व्यवसायीहरुले अपहेलना गरेको भन्दै अब दर्शकहरुको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक-चौतारामा चलचित्र देखाउने जनाएका थिए । त्योबेला ‘जारी’को सुनामीले ‘बुलाकी’को व्यापारमा ठूलो असर गरेको भए पनि दर्शक प्रतिक्रिया र समीक्षा भने राम्रो मिलेको थियो ।
लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, सोनु सेढाइ, प्रकाश कँडेल, सरस्वती खत्री लगायतको अभिनय छ । कर्णाली क्षेत्रको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा र सन्तान नहुँदा वैवाहिक सम्बन्धमा आउने आरोह-अवरोहको कथामा फिल्म आधारित छ ।
















