नेपालमा राजनीति र भ्रष्टाचार एकअर्काका परिपूरक जस्तै भएका छन् । भ्रष्टाचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहोदामा पुगेपछि सम्पत्ति कमाउने होडबाजी जस्तै देखिएको छ । २०४६ सालपछिको अवस्था मात्र हेर्ने हो भने पनि नेपालमा राजनीतिक दल तथा तिनका नेताहरू नै भ्रष्टाचारमा संलग्न हुने गरेको पाइएको छ । कतिपय ठूला भ्रष्टाचारमा दलका नेताहरू नै संलग्न भएको र त्यही कारण उनीहरूको राजनीतिक जीवन नै समाप्त भएको उदाहरण पनि छ ।
सुडान घोटाला, लाउडा, चेज र धमिजालगायत काण्डहरू नेपालका केही चर्चित पुराना भ्रष्टाचार काण्ड हुन् । वाइडबडी, ललिता निवास, ओम्नीजस्ता भ्रष्टाचार काण्ड ६० र ७० को दशकयता देखिएका छन् । जसमा जोडिएका नेता कोही पनि जवाफदेही हुनुपरेको छैन । यस्ता काण्डमा ठूला दलका प्रमुख नेता नै मुछिएका छन् । पछिल्लो समय त टेरामक्स खरिद, गिरीबन्धु, नक्कली भुटानी शरणार्थी, टीकापुर जग्गा, बाँसबारी जग्गा, क्विन्टलका क्विन्टल सुन तस्करी प्रकरण सार्वजनिक भएका छन् । यस्ता ठूला प्रकरण अवश्य पनि हाइप्रोफाइल भएका व्यक्तिको संलग्नता विना सम्भव छैन । तर पनि यस्ता प्रकरणमा उच्चपदस्थ कारबाहीको दायरामा आएका घटना विरलै छन् । बरु यस्ता प्रकरण सत्ताका लागि बार्गेनिङको माध्यम बन्दै गएका छन् ।
सरकारको नेतृत्व गर्नेले भ्रष्टाचार गर्न दिनुहुँदैन, त्यसका लागि यो यो काम गरेर अघि बढ्नुपर्छ भने लक्ष्य बनाउनुपर्छ । हामीकहाँ सरकारको नेतृत्वमा रहेका दल र नेताहरू नै भ्रष्टाचारको आरोपमा मुछिएका छन् । केही न केही आरोप लागेपछि राजनीतिक नेतृत्वले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्छ । आफ्नो कुनै भूमिका नै छैन भने पनि जवाफदेही हुनैपर्छ । भ्रष्टाचार, अनियमित कार्य गर्नेलाई सामाजिक रूपमा बहिष्कार गर्ने, विकास आयोजनाहरूको तर्जुमा गर्दा प्राथमिकताका आधारमा गर्ने, निर्वाचन प्रणलीलाई मितव्ययी बनाउने, यसका लागि आवश्यक पर्ने कानुन तर्जुमा गर्ने, सार्वजनिक ओहदामा बस्ने पदाधिकारीलाई सुनिश्चित भविष्यको ग्यारेन्टी गर्ने र उनीहरूको मानसिकता परिवर्तन गर्नु आवश्यक छ । साथै शासनमा सत्य, निष्ठा, नैतिकवान् शासक एवं प्रशासकको व्यवस्थापन गर्र्ने, सरकारका काम कारबाहीको राम्रो अनुगमन गर्ने र जनताले पनि सधैँ खबरदारी गर्ने, ऐन नियमको व्याख्या सकारात्मक ढङ्गले गर्नुपर्ने देखिन्छ ।
हालै एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचार समाप्त गर्ने कुरामा सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । उनले भनेजस्तै राजनीतिकर्मीहरुमा अब भ्रष्टाचार अन्त्यका लागि प्रतिस्पर्धा हुन जरुरी छ । जवाफदेहिता र इमानदारिताको लागि नेताहरु चिनिनुपर्छ । भ्रष्टाचार बहुआयामिक स्वरूपको हुने हुँदा सबै राजनीतिक दलहरू, सञ्चारकर्मीहरू, बुद्धिजीवीहरू, आमजनता सबैको समन्वय, सद्भाव र सहकार्यमा मात्र भ्रष्टाचार न्यूनीकरण गर्न सहज हुन्छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आ–आफ्नो जिम्मेदारीभित्रका कार्यलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्छ । तब मात्र देशको सामाजिक आर्थिक रुपान्तरण सम्भव छ । सुखी नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्त हुन सक्छ । जनधारणा साप्ताहिकबाट

















