काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले हालै भएको जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने जनाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ?’ उनले प्रश्न गरे, ‘ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘यसमा सरकार जवाफदेही हुन्छ कि हुँदैन ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु-यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने हो ?’ जनउत्तरदायी सरकार हो भने सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने र सुधारका लागि काम गर्नुपर्ने भन्दै आफ्नो धारणा राखेका थिए ।

















