विपक्षी नेता गोन्जालेजले स्पेनमा शरण लिन देश छोडे

35

एजेन्सी । विपक्षी नेता एडमन्डो गोन्जालेजले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले जनाएको छ ।

जुलाई २८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले गराएको ‘पुनः निर्वाचन’मा धाँधली भएको भनेर विरोध गर्दै आएका विपक्षी उम्मेदवार गोन्जालेजले शनिवार देश छोडेको सरकारी पक्षले जनाएको हो ।

भेनेजुएलाका उपराष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनअघि काराकासस्थित स्पेनी दूतावासमा स्वेच्छिक रुपमा शरण लिएपछि गोन्जालेजले त्यहाँको सरकारसँग राजनीतिक शरणका लागि आग्रह गरेको थाहा भएको छ ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गोन्जालेज एक महिनादेखि भेनेजुयलामा लुकेर बसिरहेका थिए । उनलाई सुनुवाईका लागि अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि उनी अदालतसामु उपस्थित भएका थिएनन् ।

स्पेनी विदेशमन्त्री जोस म्यानुएल अल्भारेजले स्पेनी सेनाको विमानमा गोन्जालेज स्पेन प्रस्थान गरेको पुष्टि गरेका छन् । गोन्जालेजको आग्रहमा आफ्नो देशले सहयोग गरेको उनको भनाइ छ । भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको अल्भारेसले बताएका छन् ।

गोन्जालेजका वकिल जोस भिसेन्ते हारोले पनि उनी स्पेन प्रस्थान गरेको एएफपीसँग पुष्टि गरेका छन् ।

गत जुलाई २८ मा भएको निर्वाचनमा मदुरो विजयी भएको निर्वाचन आयोगको घोषणापछि भेनेजुएला राजनीतिक सङ्कटमा परेको छ ।

आयोगको घोषणाविपरीत गोन्जालेजले भने निर्वाचनमा धाँधली भएको प्रमाण आफूसँग रहेको दाबी गर्दै आक्रोश पोखेका थिए ।

संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र धेरै ल्याटिन अमेरिकी देश र सङ्घसंस्थाहरूले मदुरोलाई विजेताको रूपमा मान्यता दिन अस्वीकार गरेका छन् ।

चुनावपछि गोन्जालेज राष्ट्रपतिको सही विजेता भएको भन्दै विपक्षी दलले दाबी गरेको छ । उनलाई राष्ट्रपति बनाइनुपर्ने अडान राख्दै आन्दोलन गर्न थालेपछि  भेनेजुएलाका अभियोजनकर्ताहरूले गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here