माइक्रोसफ्टले ऊर्जा आणविक प्लान्ट किन्ने

37

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आफ्ना विभिन्न परियोजना र त्यसका लागि आवश्यक डेटा सेन्टरका कारण ऊर्जाको माग बढ्दै गएपछि माइक्रोसफ्टले एक चर्चित आणविक ऊर्जा कम्पनीसँग खरीद सम्झौता गरेको छ ।

हाल नियामकहरूबाट स्वीकृत हुने क्रममा रहेको उक्त सम्झौता सन् २०२८ बाट कार्यान्वयन आउने र २० वर्ष अवधिको लागि मान्य हुने उक्त आणविक ऊर्जा कम्पनीको सञ्चालक कन्स्टेलेसन इनर्जीले जनाएको छ । थ्री माइल आइल्यान्ड भनिने स्थानमा रहेको पेन्सेल्भेनिया प्लान्ट सन् १९७९ मा एक दुर्घटना भएपछि बन्द गरिएको थियो ।

चार दशकभन्दा बढी समयको सुधार प्रयासपछि हाल यो खुल्ने तयारीमा छ । उक्त प्लान्टले माइक्रोसफ्टलाई झन्डै ८३५ मेगावाट कार्बनरहित ऊर्जा उपलब्ध गराउने सञ्चालकको दाबी छ । यस सम्झौताले अमेरिकाको अर्थतन्त्रमा ३४०० भन्दा बढी प्रत्यक्ष अप्रत्यक्ष रोजगारीसँगै राज्य र संघीय सरकारलाई करबापत ३ अर्बभन्दा बढी योगदान गर्ने कम्पनीहरूले जनाएका छन् ।

४५ वर्षअघि भएको सो दुर्घटनालाई अमेरिकाको ईतिहासकै खराब आणविक दुर्घटनाको रूपमा लिइन्छ । त्यो बेला कुनै हताहती नभए पनि प्लान्ट वरीपरी रहेका झन्डै एक लाख ४० हजार बासिन्दालाई अन्यत्र सार्नुपरेको थियो । रेडियोएक्टिभ ग्यास चुहावट भएको सो प्लान्ट छोप्न मात्रै एक अर्ब डलरभन्दा बढी खर्च भएको थियो ।

पछिल्लो समय एआई प्रविधिमा उल्लेख्य लगानी गरिरहेका माइक्रोसफ्ट लगायत कम्पनीहरूलाई ठूलो मात्रामा ऊर्जा आवश्यक पर्ने गरेको छ । सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीहरूमाथि ऊर्जाको वैकल्पिक स्रोत खोज्नुपर्ने दबाब बढ्दै गएको छ ।

एआई, क्लाउड कम्प्युटिङसँगै गेमिङ र अन्य क्षेत्रमा हात हालेका माइक्रोसफ्टजस्ता कम्पनीका लागि उच्च क्षमताका डेटा सेन्टर, पूर्वाधार र अन्य प्राविधिक कार्यसञ्चालनका लागि आवश्यक पर्ने ऊर्जाको माग अकासिएको छ । त्यसबाट वातावरणमा पर्ने प्रतिकूल प्रभावका विषयमा पनि प्रश्न उठ्न सुरू भएका छन् ।

माइक्रोसफ्टले आणविक ऊर्जाको यो उपलब्धतालाई कार्बन उत्सर्जन-नेगेटिभ बन्ने आफ्नो प्रयासतर्फको महत्त्वपूर्ण पहल भएको टिप्पणी गरेको छ । माइक्रोसफ्टसँगै गुगल, अमेजन, मेटाजस्ता ठूला कम्पनीहरूले पनि केही वर्षभित्र सम्पूर्ण रूपमा नवीकरणीय ऊर्जाको प्रयोग गर्ने र आफ्ना प्राविधिक पूर्वाधारहरूका कारण वातावरणमा पर्ने असर कम गर्न प्रयास गर्दै जाने महत्त्वाकांक्षी घोषणाहरू गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here