काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
१७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।
४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।
त्यसैगरी गोरखा मिडियामा गएको रकमका हकमा भने अनुसन्धान गर्न बाँकी नै रहेकाले पूरक अभियोजन लैजाने बाटो खुला राखिएको छ ।
‘साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । जसका कारण पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने बेहोरा जानकारी गराइन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।


















