सुकिला नोट वितरण सुरु

32

काठमाडौं । दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्न भएको छ ।

दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । साथै बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

नोट छपाइका लागि झन्डै डेढ अर्ब

हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैङ्कले यसपालि सुकिला नोटले काम चलाउने लागेको हो । बैङ्कले नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ । सोही खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन ।

राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनि खर्च हुँदै आएको छ ।

दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रिने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैङ्कले नयाँ नोट बन्द गर्न लागेको हो ।  डिजिटल कारोबारलाई प्रोत्साहन गर्न, सर्वसाधारणलाई यसमा अभ्यस्त बनाउन र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

दसैँमा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने बताइएको छ । ठुलो लागत लगाएर छापेको नयाँ नोट दसैँमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको कुरालाई पनि मध्यनजर गर्दै दसैँमा नयाँभन्दा पुरानै नोटलाई सुकिला बनाएर दिन सुरु गरेको छ । दसैँतिहारका लागि ५, १०, २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक पनि सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

नोटको जतन गरौँ : राष्ट्र बैङ्क

नेपाली नोटको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी सम्बन्धमा नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागले नोटमा जथाभाबी केरमेट नगर्न अनुरोध गरेको छ ।

नोटको जतन गर्नका लागि अनिवार्य रूपमा मनि ब्याग प्रयोग गर्ने बानी बसाल्न आग्रह गर्दै समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसाल्न पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गर्न आग्रह गर्दै राष्ट्र बैङ्कले नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गरौँ र अरूलाई पनि सिकाउन सुझाएको छ ।

नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्याग्ने तथा पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरूले सकेसम्म नोट नछुन पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा, यस्तो कार्यलाई निरुत्साहित गर्ने तथा कारोबारका क्रममा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैङ्कको कार्यालय वा अन्य बैङ्क तथा वित्तीय संस्थामा लगी दाखिला गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here