काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको जनाएका छन् । बुधबार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दसैँअघि नै गर्ने प्रयासमा रहेको जनाए । उनले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरूको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने जनाए । उनले संसद्ले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरू रहेको जनाए । उनले वैकल्पिक स्रोतसहित सरकारले निर्णय गरेको हुनाले आयोजनाहरू जारी रहने जनाए ।
उनले भने,‘सरकारले निर्माण व्यवसायीहरूको करिब २० अर्ब रुपैयाँ भुक्तानी भएको छ । तर निर्माण व्यवसायीहरूले पाउनुपर्ने दायित्व सबै पाउनुभएको छैन । सरकार निर्माण सम्पन्न भएको कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिन्छौँ । भुक्तानीको प्रक्रिया रोकिएको छैन । निर्माण व्यवसायीहरूले सरकारबाट पाउनु पर्ने भुक्तानी पाउनु हुन्छ । दसैँ अघि भुक्तानी गर्ने कोसिस गर्छौं ।’
अर्थमन्त्री पौडेलले विपद्को कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने जनाए । उनले जलवायु परिवर्तनको असर देखिएकाले वर्षाको कारण धेरै ठुलो क्षति भएको जनाए ।


















