बरहथवा । अविरल वर्षापछि आएको बाढी तथा डुबानका कारण सर्लाहीमा २ हजार ५३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि बागमती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिममा रहेका आठवटा पालिका प्रभावित भएका हुन् ।
यस्तै, जिल्लामा एक हजार ६ सय ६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा परेर घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए । केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरुलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उनले जानकारी दिए ।
यसैबीच, सोती खोलामा आएको बाढीले बरहथवा नगरपालिका–४, हरपुर्वा गाउँमा पाँच घरमा आंशिक क्षति पुर्याएको छभने चार घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिइन् । चन्द्रनगर गाउँपालिका–१, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रुपमा र ५२ घरमा आंशिक क्षति पुगेको छ भने ३७० घर डुबानमा परेको छ । गाउँको अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
जिल्लाको धन्कौल गाउँपालिका–३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ । यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रुपमा र १०५ वटा घरमा आंशिक क्षति पुगेको पालिकाले जनाएको छभने, ३०० वटा घर डुबानमा परेको छ । बागमती खोलामा आएको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताए । बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पुर्याएको छभने उखुखेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ ।
यस्तै, विष्णु गाउँपालिका–७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रुपमा क्षति पुर्याइदिएको छ । बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खानसमेत समस्या भएको बताएका छन् । दाउरा भिजेको र ग्यास चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरुले गुनासो गरे । तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गरीदिन बसबरिया गाउँपालिका–२, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गरे ।
बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन् । चापाकलहरु पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दुषित पानीका कारण स्थानीय सङ्कटमा रहेको बलरा नगरपालिका–१, निवासी चुनचुन महतोले जनाए ।
स्थानीयले पहिलो आवश्यकताअनुसारको राहतसमेत नपाएको उनले गुनासो गरे । बाँस र माटोले बनेका खपडा, टायल र जस्ताको छाना भएका कच्ची घरहरु डुबानमा परेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।


















