काठमाडौं । सन्तान विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा सामाजिक एक्लोपनाले सताएको एक अध्ययनले देखाएको छ ।
महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप–एमआरएफ) को तेस्रो संस्करणको ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयक अध्ययनले उक्त निष्कर्ष देखाएको हो ।
अध्ययनले विदेशमा छोराछोरी भएका ज्येष्ठ नागरिकहरूमा गम्भीर र भावनात्मक एक्लोपना भएको देखाएको छ । महानगरले गरेको उक्त अध्ययनमा सबै वडा समेटिने गरी ५ सय ९ जना ज्येष्ठ नागरिक सहभागी थिए । सहभागीमध्ये ६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखिएको अध्ययनमा छ ।
‘४८ प्रतिशतमा सामाजिक एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य देखियो,’ अध्ययनको प्रतिवेदनमा भनिएको छ, ‘हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा ज्येष्ठ नागरिकले हिनता बोध गरेका हुन् । यसैले ज्येष्ठ नागरिकमा एक्लोपना र निराशा देखिएको हो ।’


















