प्रधानमन्त्री ओलीले आपसी सहयोगका साथ विजया दशमी मनाउन आग्रह

24

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सदभाव साथ विजया दशमी मनाउन आग्रह गरेका छन् ।

विजया दशमीका अवसरमा शनिबार भिडियो सन्देशमार्फत ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन् ।

विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग होस्टेमा हैसेमिलाउन सबैलाई आह्वान गरे । ‘जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु,’ उनले भनेका छन् ।

विपद्को घडीमा यतिबेला आफ्नो मन भारी भइरहेको ओलीले बताए । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा आफू पनि म रमाउन नसकिरहेको उनको भनाइ थियो ।

दसैंअघिको भीषण बाढीपहिरोले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले समेत जीवन गुमाउनुपरेको र कति घाइते भएको ओलीले स्मरण गरे ।

प्रधानमन्त्री ओलीले  सन्देशमा सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको भन्दै आश्वस्त रहन आग्रह गरे । प्रकोपले नोक्सान भएको किसानको अन्नबालिको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउँने, भत्किएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्ने भन्दै उनले त्यसप्रति आश्वस्त रहँदै सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन आग्रह गरे ।

आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह गरे । ‘सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ,’ ओलीले भने, ‘उहाँहरुको आशु पुछ्ने, उहाँहरुको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here