अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी धावक सहभागी

31

पोखरा । पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी धावक सहभागी भएका छन् । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले शुभारम्भ गरेका हुन् ।

प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट धावकसहित १ सय ३४ सदस्यीय टोली  लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस-३१९  पोखरा आएको थियो । प्रतियोगितामा चिनियाँ धावकसहित एक हजार २०० भन्दा बढी सहभागी बनेको मिडिया संयोजक प्रतिकराज पहारीले जानकारी दिए ।

खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र/छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिष्पर्धा सुरु भएको हो ।

पोखरा लेकसाइडबाट सुरु भएको ५० किलोमिटर दूरीको समूहगत दौड २२ सय ५८ मिटर उचाइसम्मलाई फन्को मारेर बाराही घाटमै आएर समापन हुने छ ।

बाराहीघाट, राष्ट्रबैंकचोक, विरौंटा छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल पामेहुँदै पुन बाराहीघाट आएर समापन हुने आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । यो प्रतिस्पर्धाका सहभागीले  ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्ने पालिखेले जनाए ।

च्यालेन्ज इन्डिभिजुअल दौड पनि ५० किलोमिटरकै हुने छ । बाराही घाटबाटै सुरु भएको यस विधामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाइसम्मको दुरी पार गर्नुपर्नेछ । जसमा एक सय जना नेपाली र ५२ जना चिनिया गरी कुल एक सय ५२ जना खेलाडी प्रतिष्पर्धामा सहभागी भएका छन् ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले ५ किलोमिटर दौडमा सहभागी भएका छन् । ५ सयभन्दा बढी विद्यार्थीले यस विधामा सहभागिता जनाएको पालिखेले जानकारी दिए ।

प्रतियोगिताको आकर्षणका रुपमा ह्याप्पी रन दौड हुनेछ । प्रतियोगितालाई रमणीय र आकर्षक बनाउने उद्देश्यले राखिएको सो प्रतिस्पर्धा २ किलोमिटरको हुनेछ । जसमा प्रमुख अतिथि, विशिष्ट अतिथिसहित झण्डै ६ सय जनाले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको समूहगत बिजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीय हुनेले २ लाख २९ हजार २ सय रुपैंयाँ, चौथो हुनेलाई १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौं हुनेलाई ९५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।

च्यालेन्ज इण्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुवै तर्फको बिजेताले १ लाख ५२ हजार ८ सय, उपबिजेता दुवै तर्फकाले एक लाख १४ हजार ६ सय, तृतीय हुने दुवै तर्फकाले ७६ हजार ४ सय, चौंथोदेखि सातौंसम्म हुने दुवै तर्फका प्रत्येकलाई ३८ हजार २ सय र आठौंदेखि दशौं स्थानसम्मका दुवै तर्फकालाई जनही १९ हजार २ सय रुपैयाँ प्रदान गरिने पालिखेले जानकारी दिए ।

विद्यार्थी तर्फ छात्र तथा छात्रातर्फका बिजेताले समान ३० हजार रुपैयाँ, उपविजेता बनेका दुवैतर्फकाले २५ हजार रुपैंयाँ, तृतीय हुने दुवै तर्फकाले २० हजार तथा चौंथोदेखि छैटौं स्थानसम्म प्राप्त गर्ने सबैलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here