एजेन्सी । दिल्लीस्थित नेपाली राजदूतावासले यात्रा अनुमति पत्र (एनओसी) सम्बन्धी संशोधित सूचना सार्वजनिक गरेको छ ।
नेपालका नागरिकले भारतको विमानस्थल प्रयोग गरेर अन्य देशमा यात्रा गर्दा ‘यात्रा अनुमतिपत्र’ प्राप्त गर्नुपर्ने प्रावधानलाई थप स्पष्ट पार्दै दूतावासले संशोधित नियम लागू गरेको हो ।
उक्त सूचनाअनुसार नेपाली नागरिक भारत हुँदै साउदी अरब, कतार, कुवेत, युएई, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा अनिवार्य रूपमा दूतावासबाट एनओसी लिनुपर्ने प्रावधान छ । साथै, रूसका लागि समेत एनओसी आवश्यक भएको तर रूस सरकारद्वारा प्रदान गरिएको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र व्यापार भिसा लिने व्यक्तिले भने एनओसी लिनुपर्ने प्रावधान नरहेको सूचनामा जनाइएको छ ।
विदेश यात्रा गर्ने नेपालीहरूले नेपाल सरकारको कन्सुलर सेवा विभाग वा दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिनसक्छन् । त्यस्तै सूचनामा नेपाल सरकारको वैदेशिक रोजगार विभागबाट जारी गरिएको वैदेशिक रोजगार अनुमति पत्र (एफईपी) प्राप्त गरेका नेपालीले भने दूतावासबाट एनओसी लिनुनपर्ने उल्लेख गरिएको छ । एफईपी लिएको छ कि छैन भनेर विभागको वेबसाइटमार्फत पुष्टि गर्न सकिन्छ ।
त्यसैगरी, अमेरिकी, बेलायती, क्यानाडा, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान तथा सेन्जेन देशमा वैध आवासीय कार्ड वा भिसा भएका नेपालीलाई पनि कुनै एनओसी आवश्यक नरहेको सूचनामा उल्लेख छ । साथै, नेपाली कूटनीतिक, आधिकारिक वा सेवा पासपोर्ट, संयुक्त राष्ट्रसंघको पासपोर्ट र १६ वर्षभन्दा मुनिका नेपाली नाबालकले पनि एनओसी लिनुनपर्ने दूतावासले जनाएको छ ।
एनओसी आवश्यक पर्ने नेपाली नागरिकले यात्रा गर्नु सात दिनअघि नै आवश्यक कागजातहरू दूतावासको आधिकारिक इमेल [email protected] मार्फत बुझाउनु पर्ने छ भने त्यसपछि दूतावासले आवश्यकता अनुसार थप कागजातहरू माग गर्नसक्छ ।
एनओसी लिने नेपाली नागरिकले भारतीय १ हजार रुपैयाँ बुझाउनु पर्नेछ । दूतावासले जारी गरेको बैंक खाता अथवा भीम युपीआईको एपमार्फत पनि शुल्क बुझाउन सकिने दूतावासले जनाएको छ ।
हेर्नुहोस् सूचना:
