जनकपुरधाम । कात्तिक पूर्णिमाका दिन कमला नदीको तटमा प्रत्येक वर्ष लाग्ने पूर्णिमा (भूत) मेलामा भक्तजनहरूको घुइँचो लागेको छ।
यस वर्ष मेलामा सहभागी हुन कमला नदीमा सहभागी हुने भक्तजनहरूको घुइँचोले मेलाको आकर्षण बढेकाे हाे । धार्मिक आस्थासँग जोडिएको उक्त मेलामा नेपालको धनुषा, महोत्तरी, सिराहा विभिन्न स्थान तथा भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालुभक्तजन सहभागी हुन पूर्णिमाको अघिल्लो दिन नै आउने गर्दछन् । विशेष गरी कार्तिक पूर्णिमाका दिन स्नान, पूजा–पाठ र दान गर्ने परम्परालाई धार्मिक र सांस्कृतिक महत्वको रूपमा लिइने हुँदा मेला स्थलमा सहभागी हुन महिला, पुरुष र बालबालिका मेलामा आएका छन् ।
पूर्णिमाको अवसरमा लाग्ने उक्त मेलामा नयाँ सिकारु धामी झाँक्रीहरु आ–आफ्ना गुरुबाट दीक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा आराधना गरी देउता अर्थात् भूत (धामी) खेल्ने धार्मिक परम्परा छ । सो दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको सङ्ख्यामा धामी झाँक्रीहरुसमेतको उपस्थिति हुने गर्छ । भूत मेलालाई स्थानीय परम्परा र धार्मिक आस्थासँग जोडिएको एक अद्वितीय सांस्कृतिक पर्व मानिएकाे छ । धार्मिक मान्यता अनुसार, अकालमा मृत्यु भएका मानिसहरूको आत्माले शान्ति नपाएमा उनीहरूले समस्यामा पारेको अनुभव हुने गर्छ । यस्तो आत्मालाई शान्ति दिनको लागि र आफ्नो जीवनमा शान्ति र सुख प्राप्त गर्न, मानिसहरू यस मेलामा उपस्थित हुने गर्छन् ।
यस्तै, मेला अवधिभर नदी किनारमा धूप, दीप र पक्वान्न राखेर पूजा गरिन्छ । मेलामा सहभागी पण्डितहरूले विशेष मन्त्र उच्चारण गर्दै पूजाविधि सञ्चालन गर्छन् । मृत आफन्तहरूको सम्झनामा दियो बाल्ने र नदीमा बगाउने परम्परा छ । यसलाई मृतकप्रतिको श्रद्धा व्यक्त गर्ने एक माध्यम पनि मानिन्छ । पूर्णिमाका दिन कमलामा आउजाउ गर्ने भक्तजनको घुइँचो लाग्ने हुँदा कमला क्षेत्र वरपरका स्थानीय तहले बिहीबार र शुक्रबार बिदा दिएका छन् भने स्थानीय तहबाटै विभिन्न स्थानमा स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ ।














