सात पत्रकार संगठनहरू एकै ठाउँमा

59

काठमाडाैं । नेपाल पत्रकार महासंघको यही २०८१ मंसिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै क्रियाशील श्रमजीवी पत्रकारहरूको नयाँ साझा मोर्चा सक्रिय भएको छ ।

महासंघको राजनीतिमा निर्णायक भूमिका खेल्ने विश्वास गरिएको यो मोर्चा श्रमजीवी, स्वरोजगारमूलक र समावेशी पत्रकारहरूको अधिकारका लागि नयाँ आशाका रूपमा देखा परेको छ । यो मोर्चाले नेपाल पत्रकार महासंघको उम्मेदवारी घोषणा गर्ने अघिल्लो दिन जारी गरेको संयुक्त वक्तव्यले महासंघको आगामी निर्वाचनमा नयाँ तरंग ल्याएको छ ।

साझा मोर्चाले महासंघको निर्वाचन र समग्र सञ्चार क्षेत्रका मुद्दामा आफ्नो धारणा सार्वजनिक गर्दै तीनवटा प्रमुख बुँदाहरू प्रस्तुत गरेको छ । महासंघको निर्वाचन तोकिएको मितिमा र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुनुपर्छ । सदस्यता विवादका कारण केही जिल्ला शाखामा देखिएका समस्याहरू तत्काल समाधान गर्न महासंघको ध्यानाकर्षण गराइएको छ । महासंघको साझा र समावेशी चरित्र संकटमा परेकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई जोगाउन साझा मोर्चाले प्रतिबद्धता जनाएको छ ।

विगतमा श्रमजीवी पत्रकारका मुद्दाहरू केवल चुनावी नारामा सीमित भएकाले यसपटक यस्ता मुद्दाहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । महासंघको निर्वाचनमा सबै तीन तहका पदमा उम्मेदवारी दिने निर्णय गरे पनि नेतृत्व सहमति र संवादको माध्यमबाट चयन गर्न योगेन्द्रप्रताप शाहीको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ ।

संयुक्त वक्तव्य जारी गर्ने घटकहरूमा जन्मदेव जैसी, अध्यक्ष, श्रमजीवी पत्रकार संघ, नेपाल, बिदुर प्रसाद ढुंगेल, अध्यक्ष, प्रेस नेपाल, गोपाल पौड्याल, अध्यक्ष, मिडिया नेपाल, कुमारप्रसाद ओझा, अध्यक्ष, लोकतान्त्रिक पत्रकार मञ्च, प्रविणकुमार चौधरी, अध्यक्ष, कायस्थ पत्रकार समाज, हेमशंकर सिंह, अध्यक्ष, प्रगतिशील पत्रकार मञ्च, देवीप्रसाद सापकोटा, सञ्चार क्षेत्र सुधार अभियन्ता छन् ।

साझा मोर्चाका संयोजक रहेका योगेन्द्र शाहीका अनुसार, महासंघको गरिमा, श्रमजीवी पत्रकारहरूको हकअधिकार र समावेशीताका मुद्दाहरूलाई प्रतिनिधित्व गर्न सबै पक्षलाई निष्पक्ष र पारदर्शी रूपमा भूमिका निर्वाह गर्न आह्वान गरेको छ । मोर्चाले महासंघलाई श्रमजीवी पत्रकारहरूको साझा मञ्चका रूपमा स्थापित गर्न र यसको विश्वास बढाउन प्रतिबद्धता व्यक्त गरेको छ । महासंघको निर्वाचनले श्रमजीवी पत्रकारहरूको अधिकारका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ । अबको निर्वाचनले महासंघको आगामी भविष्य र पत्रकारिताको मूल चरित्रलाई स्पष्ट बनाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here