आईओएमको डीनमा प्राडा मोहनराज शर्मा

47

काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् ।शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले प्राडा शर्मालाई चार वर्षका लागि आईओएमको डीन नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि आईओएमको डीनका लागि नाम सिफारिस गर्न गठित समितिले प्राडा शर्मा सहित तीन जनाको नाम सिफारिस गरेको थियो । गत १४ असोजमा कार्यकारी समक्ष सिफारिस गरिएका नामहरुमा प्राडा शर्मासहित प्राडा दिब्यासिंह शाह र प्राडा सुधा बस्नेत थिए । यहि तीन जना मध्येबाट शर्मालाई डीनमा नियुक्त गरिएको हो ।

त्यसअघि समितिले १३ असोजमा सिफारिसमा परेका तीन जना सहित प्राडा अभिमन्यु झा र प्राडा उत्तमकृष्ण श्रेष्ठलाई अल्पसूचीमा राख्दै कार्ययोजना प्रस्तुति सहितको अन्तर्वार्ता लिएको थियो ।

प्राडा शर्माले आफू औपचारिक पत्र पाइ नसकेको भए पनि निर्णय भएको थाहा पाएको बताए । आफूले त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)लाई सुदृढ गर्ने योजनाका साथ दावेदारी प्रस्तुत गरेको भन्दै त्यसमा आफूले पूर्ण रुपमा काम गर्ने प्रतिवद्धता जनाए । त्यसो त त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो । तर, उनलाई अर्को डीन नियुक्ती भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गर्न भनिएको थियो । प्राडा शाहले तोकिएको अबधी सकिएको झण्डै छ महिना पछिसम्म डीनको जिम्मेवारी सम्हालिन् ।

यसअघि डीनका लागि १३ जनाले आवेदन दिएका थिए। जसमा अल्पसूचीमा परेका पाँच जनासहित प्राडा रमेशसिंह भण्डारी, प्राडा निरजु रञ्जित, प्राडा दिनेश काफ्ले, प्राडा रामचन्द्र अधिकारी, प्राडा मिता राणा, सह प्राडा ज्योतिबाबा श्रेष्ठ, प्राडा संघरत्न बज्राचार्य, प्राडा रत्नमणि गजुरेल थिए।

त्रिवि कार्यकारी परिषद्ले डीन नियुक्तीका लागि नम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका थिए ।

समितिले गत १८ भदौमा सात दिनको अवधी तोकेर डीन पदका लागि इच्छुकहरुलाई आवेदन भर्न सूचना जारी गरेको थियो तर सो अवधी पुन: थपिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here