काठमाडौं । नेपालबाट सिफारिस भएको चलचित्र ‘शाम्बाला’ ९७ औं अस्कर अवार्डको दौडबाट बाहिरिएको छ ।
नेपाली समयानुसार बुधबार बिहान एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले अन्तर्राष्ट्रिय फिचरसहित १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको थियाे।
मीनबहादुर भाम निर्देशित उक्त नेपाली चलचित्रसहित ८५ फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धा गरेका थिए । सर्टलिस्टको सूची हेर्दा यसपटक एसियालाई धक्का लागेको छ । सर्टलिस्टमा एसियाबाट थाइल्याण्डको फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्डमा डाइज’ मात्र छनोट हुन सफल भएको छ ।
इतिहास रच्दै बर्लिनमा छनोट भएको नेपालको ‘शाम्बाला’ सर्टलिस्ट मनोनयनमा पर्ने कुरालाई लिएर धेरैजना आशावादी थिए । यसपटक पनि नेपालको अस्कर दौड निराशजनक बनेको छ । सर्टलिस्टमा १५ चलचित्र समावेश छन् । यसबाट पनि अन्तिम ५ चलचित्रको मनोनयन घोषणा जनवरी १७ मा घोषणा हुनेछ ।
यस्तो छ अन्तर्राष्ट्रिय फिचरतर्फ सर्टलिस्ट सूची :
१) ब्राजिल- आइएम स्टिल हेयर
२) क्यानडा- युनिभर्सल ल्यांग्वेज
३) चेक रिपब्लिक- वेभ्स
४) डेनमार्क- द गर्ल विथ द निडल
५) फ्रान्स- इमिलिया पेरेज
६) जर्मनी- द सिड अफ द सेक्रेड फिग
७) आइसल्यान्ड- टच
८) आयरल्याण्ड- निक्याप
९) इटाली- वर्मिग्लियो
१०) लात्भिया- फ्लो
११) नर्वे- आर्मन्ड
१२) प्यालेस्टाइन- फ्रम ग्राउन्ड जिरो
१३) सेनेगल- दाहोमे
१४) थाइल्याण्ड- हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज
१५) बेलायत- सन्तोष


















