तीन दशकअघिसम्म विद्यार्थीको चाप थेगिनसक्नु हुने भक्तपुर सानोठिमीको आदर्श बहुमुखी क्याम्पस अहिले विद्यार्थी खोज्नुपर्ने अवस्थामा छ, जहाँ अहिले ४७ जनामात्र विद्यार्थी छन् । त्यसैगरी ललितपुरको आदर्श कन्या क्याम्पसमा ४१, नुवाकोटको अमरज्योति क्याम्पसमा ५४, पर्वतको अन्नपूर्ण सामुदायिक क्याम्पसमा १५ तथा सुनसरीको विजयपुर कलेजमा १३ विद्यार्थी छन् ।
उच्च शिक्षा अध्ययनका लागि धेरै विद्यार्थी विदेशिँदाको प्रत्यक्ष मार क्याम्पसहरुमा परेको छ । मुलुकका विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी २२ वटा विश्वविद्यालयमा १४ सय २३ उच्चशिक्षा प्रदायक शिक्षण संस्थामध्ये ५ सय ५ वटा क्याम्पसहरुमा एक सय पनि विद्यार्थी छैनन् ।
विद्यार्थी न्यून भइ बन्द हुने अवस्थामा पुगेका अधिकांश क्याम्पस त्रिवि अन्तगर्तका छन् । विश्वविद्यालयहरुको नियामक निकाय विश्वविद्यालय अनुदान आयोगको हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १९ वटा आंगिक, १ सय ७८ वटा सामुदायिक र ३ सय ८ वटा निजी क्याम्पस बन्दको संघारमा पुगेका छन् ।
त्यसो त विद्यार्थी अभावमा धेरै क्याम्पस बन्द हुने अवस्थामा पुगेपछि विश्वविद्यालय अनुदान आयोगले प्रोत्साहनसहितको शिक्षण संस्था गाभ्ने नीति नै ल्याएको छ । पछिल्लो समय विद्यार्थी कम भएका २० वटा क्याम्पस एक अर्कामा गाभिएका छन् । क्याम्पसहरु एक अर्कामा गाभिन चाहेमा प्रोत्साहनस्वरुप २५ लाखदेखि त्यसभन्दा माथिको अनुदानसमेत दिन थालिएको छ ।
विद्यार्थी अभावमा क्याम्पसहरु नै बन्द हुने अवस्था आउनु नेपाली उच्च शिक्षा क्षेत्रका लागि पक्कै पनि राम्रो संकेत होइन । यसैले यो अवस्था आउन नदिन उच्चशिक्षा हासिल गरेपछि रोजगारीको अवसर सिर्जना गर्न विश्वविद्यालयहरुले पाठ्यक्रमलाई उद्यमशीलतासँग जोड्न आवश्यक छ । विश्वविद्यालयहरुले पनि नयाँ सम्बन्धनमा कडाई गर्न र विद्यार्थीको रुची अनुसारको नयाँ विषय पठनपाठन नगर्ने हो भन्ने अझै धेरै उच्चशिक्षा प्रदायक संस्थाहरु बन्द नहोलान् भन्न सकिन्न ।

















