काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ ।
बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताएका हुन् ।
उनले अध्यक्षको प्रतिवेदन समग्रमा राम्रो रहेको भन्दै कार्यान्वयनमा जोड दिए । उनले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम र अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब कामलाई जनताको बीचमा पुर्याएर स्थापित गर्नुपर्ने धारणासमेत राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।


















