व्यसायीलाई गम्भीर घाइते बनाएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता

34

काठमाडौं । लाजिम्पाटमा फलामको सक प्रहार गरी व्यवसायीलाई गम्भीर घाइते बनाएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। काठमाडौं प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।

घरजग्गा व्यवसायी विक्रम लामालाई मोटरसाइकलको सक प्रहार गरी हत्याको प्रयास गर्ने र योजनाकार समेतलाई प्रतिवादी बनाइएको छ। नुवाकोटको ककनी गाउँपालिका ४ का ३३ वर्षीय अजय लामा, नुवाकोटकै बेलकोटगढी नगरपालिका १२ घर भई टोखा बस्ने ३० वर्षका मार्सल भन्ने शैलेन्द्र तामाङ, गोरखाको आरुघाट ७ का २४ वर्षीय दीपक बरामु, गोरखाकै २८ वर्षीय निश्चल सुनार, सुनसरीको धरान उपमहानगरपालिका १३ घर भई बेलायतमा बसोबास गर्ने ५० वर्षकी लक्ष्मी राई, धादिङको ज्वालामुखी गाउँपालिका ४ का रमेश सिलवाल र गोरखा आरुघाट गाउँपालिका ८ का ३० वर्षका सिजन अधिकारी प्रतिवादी छन्।

यीमध्ये मुख्य योजनाकार भनिएका रमेश र लक्ष्मीसहित चारजना फरार छन्। मुख्य अभियुक्त अजय र दीपक पनि फरार रहेको अभियोग पत्रमा उल्लेख छ। ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा उनीहरूलाई १० वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिन पनि अदालत समक्ष माग गरिएको छ।

यस प्रकार छ घटना 
घरजग्गा व्यवसायी विक्रम लामा सधैँझैँ २०८१ कात्तिक ११ गते आफ्नो कार्यालय जाने क्रममा इनोभा हस्पिटल लाजिम्पाटको पार्किङमा पुग्छन्। ११ः३५ बजे गाडी पार्किङ गरेर उत्रिनासाथ सुरुमा दुई जनाले उनलाई अन्धाधुन्ध प्रहार गर्न थाल्छन्। उनी त्यहीँ ढल्छन्। तैपनि आक्रमणकारीले उनलाई छाड्दैनन्। थप दुईजना त्यहाँ पुग्छन् र उनीहरूले पनि लडेका विक्रमलाई प्रहार गर्छन्। विक्रमको शरीरबाट रगत बग्न थाल्छ। त्यसको केही समयपछि उनीहरू उनलाई त्यहीँ ढलिरहेको अवस्थामा छाडेर हिँड्छन्।

त्यहाँ हल्लाखल्ला मच्चिन्छ। आसपासका मानिस आएर व्यवसायी लामालाई उठाउँछन्। विक्रमलाई तत्काल इनोभा अस्पतालमा लगिन्छ। अस्पतालले घाइतेको अवस्था जटिल रहेको भन्दै थप सुविधा भएको अस्पतालमा लैजान सल्लाह दिन्छ। विक्रमलाई ग्रिनसिटी अस्पतालमा लगिन्छ र आईसीयूमा राखेर उपचार सुरु हुन्छ।विक्रमको टाउकोमा गम्भीर चोट लागेको, हात भाँचिएको र शरीरका अन्य भागमा पनि चोट लागेको थियो।

विक्रमले आफूमाथि आक्रमण गर्ने समूह भने चिनिसकेका हुन्छन्। उनलाई पहिलेदेखि नै उक्त समूहले धम्क्याउँदै आएको उनले प्रहरी समक्ष पछि बयान पनि दिएका छन्। विक्रममाथि आक्रमण गर्ने योजना भने उनकै पूर्वभाउजूकोे रहेको उनीहरूको दाबी छ। विक्रमको अस्पतालमा उपचार चलिरहँदा उनकी दिदीले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

यो समूहले विक्रमलाई पहिलेदेखि नै रेकी गरिरहेको पीडितको जाहेरीमा उल्लेख छ। पहिलेदेखि नै बा ७९ प ५२९८ नम्बरको निलो पल्सर मोटरसाइकल र बागमती प्रदेश ०२–०३५– प ९८४३ नम्बरको स्कुटरमा आएका मानिसहरूले रेकी गरिरहेको पीडितले खुलाएका छन्।

पुरानो रिसइबी
व्यवसायी विक्रम लामा र लक्ष्मी राईबीच पुरानो रिसइबीका कारण घटना भएको प्रहरी अनुसन्धान निष्कर्ष छ। विक्रम र लक्ष्मी पहिले देवर भाउजू हुन्। तर पछि विक्रमका दाइ र लक्ष्मीको सम्बन्धविच्छेद भएको थियो। विक्रमकै कारण सम्बन्धविच्छेद गर्नु परेको लक्ष्मीको आरोप थियो।

१० वर्षपहिले विवाह गरेका लक्ष्मी र विक्रमका दाइ दीपेशको दुई वर्ष पहिले सम्बन्ध विच्छेद भएको थियो। यसअघि पनि आफ्नो कारण सम्बन्ध बिग्रिएको आरोप लगाउँदै लक्ष्मीले विभिन्न व्यक्तिहरू लगाएर आफूलाई धम्क्याएको विक्रमले अनुसन्धानका क्रममा बताएका छन्।

विक्रमका अनुसार २०८० असोजमा टीका भण्डारीले सुन तस्करीको आरोप लगाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत उनलाई सोधपुछ गरेर छाडेको थियो। त्यसको एक महिनापछि फेरि लागुऔषध ब्युरोमा लागुऔषधको कारोबार गर्ने भन्ने जानकारी दिएपछि ब्युरोको टोली पुगेर घरमा खानतलासी गरेको विक्रमले बताएका छन्।

त्यसपछि पनि पटकपटक फसाउने प्रयास गरेको विक्रमले अनुसन्धान अधिकारी समक्ष बयान दिएका छन्। एक वर्षअगाडि पनि विक्रमलाई लागुऔषध मुद्दामा फसाउन गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका दीपक मनाङे भन्ने राजीव गुरुङका सहयोगी टीका भण्डारी लगायतले प्रयास गरेको उनीहरूको जाहेरीमा उल्लेख छ।

अहिले पनि लक्ष्मी राईको र टीका भण्डारीको योजनामा घटना भएको पीडितको आरोप छ। यस्तै लक्ष्मी राईका हालका श्रीमान् रमेश सिलवालको पनि संलग्नता रहेको उनीहरूको दाबी छ।  लक्ष्मी राई, टीकाराम भण्डारी, रमेश सिलवाल, सिजन अधिकारी र पदम राईले विक्रम लामाको ज्यान मार्न अन्य प्रतिवादीहरूलाई परिचालन गरेको पीडितको जाहेरीमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here