अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएकाे छ : अध्यक्ष ढकाल

41

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका जनाएका छन्।

बेनीमा मंगलबार आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको प्रतिक्रिया दिएका हुन्।

गत पुष अन्तिम हप्ताको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार राष्ट्रपति समक्ष सिफारिस गरेको सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी भएको थियो।

‘सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ,’ अध्यक्ष ढकालले भने ‘निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ।’

नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा प्रस्तावित कानुन निर्माणका क्रममा निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार भन्दा बाहिर राख्न सफल भएको पनि अध्यक्ष ढकालले जनाए।

कोरोना महामारी, रुस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन कानुनका कारण संकुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको अध्यक्ष ढकालले प्रष्ट्याए।

नेपालमा प्रशस्त प्राकृतिक स्रोत र विकासका काम गर्नुपर्ने भएकाले लगानी र आम्दानीको सम्भावना भए पनि नकारात्मक भाष्य निर्माण भएकोमा दुःख व्यक्त गरे। अध्यक्ष ढकालले म्याग्दीका उद्योगी, व्यवसायीहरुले तयार पार्ने कृषि, पर्यटन, जलस्रोत सम्बन्धी योजनामा लगानी भित्र्याउन उद्योग वाणिज्य महासंघ मार्फत सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान बनाउन, सम्भावनाको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, खेलकुद प्रतिभा पहिचान, कला र संस्कृतिको संरक्षणका लागि महोत्सव सफल भएको जनाए।

पुष २८ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय, औद्योगिक उत्पादनका दुई सय ३० वटा ब्यापारिक स्टल थिए। खेलकुद, लोकदोहोरी गित, मौलिक गित र नृत्य, कृषि मेला प्रदर्शनी, कलाकारहरुको गित तथा नृत्य प्रस्तुती रहेको महोत्सवमा १० करोडको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेको अध्यक्ष श्रेष्ठले जनाए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here