लघु चलचित्र ‘रित्तो गाउँ’ले जित्यो उत्कृष्ट राष्ट्रिय अवार्ड

51

काठमाडौं । निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा निर्माण भएको लघु चलचित्र ‘‘रित्तो गाउँ’ ले छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जितेको छ।

शनिबार सम्पन्न अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसी लगायतले ‘रित्तो गाउँ’का निर्माता आनन्द शर्मा वाग्लेलाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरे।

यस प्रोजेक्टका निर्देशक ज्ञवाली कार्य व्यस्तताका कारण उपस्थित हुन नसके पनि उनले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत् व्यक्त गर्दै दर्शक, टिम, र सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन्।

उनले लेखेका छन्, ‘यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्त गौरवान्वित छु। यो अवार्डले सम्पूर्ण टिमलाई अझ बढी जिम्मेवार बनाएको छ।’

चलचित्र महोत्सवमा ४७ देशका ९८ वटा फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, र विभिन्न विधाका चलचित्रहरू प्रदर्शन गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट फिल्महरूलाई सम्मान गरिएको यस प्रतियोगितामा ‘‘रित्तो गाउँ’ उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको विजेता घोषित भएको हो।

गतवर्ष निर्माण भएको ‘‘रित्तो गाउँ’ विभिन्न फेस्टिभल तथा च्यारिटी कार्यक्रममा प्रदर्शन भइरहेको छ। यसअघि पनि यसले केही अवार्ड जितिसकेको छ। नेपाली समाजमा युवा पलायनका कारण उत्पन्न समस्याहरूको कथा बोल्ने रित्तो गाउँको कथाका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक उद्धव सिग्देलको नेतृत्वमा अनुसन्धान गरिएको थियो।

‘रित्तो गाउँ’ हेर्नेहरुले अनाठो प्रस्तुतिकरण भनेका छन्। फिल्ममा डकुमेन्ट्रीको वास्तविकता र सर्ट फिल्मको कथात्मक शक्ति एकैठाउँ समेटिएको छ। यस्तो नयाँ शैलीले दर्शकलाई गहिरो प्रभाव पार्न सक्ने भएकाले नयाँ प्रयोग गरिएको निर्देशक ज्ञवालीले जनाए ।

‘रित्तो गाउँ’मा आनन्द शर्मा वाग्ले, कुनाल कायल, प्रेम भुर्तेल र नारायण कँडेल निर्माता हुन्। चार्डर एकाउन्टेन्ट पेशामा आवद्ध उनीहरुको टिमले यस फिल्म तयार पार्न लगभग एक वर्ष समय खर्चिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here