सवारी दुर्घटनामा चार जनाको मृत्यु

63

काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ भाईरल रोडस्थित सडकमा दोधराबाट
महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प्र.प.०१-०१२ प ९२४९ नम्बरको मोटरसाइकल
अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१२
बस्ने २१ वर्षीय कैलाश सिंह साउँद र मोटरसाइकलमा सवार सोही नगरपालिका-१३ बडैपुर
बस्ने २१ वर्षीय गणेश बिष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको
क्रममा मृत्यु भएको हो ।

सप्तरी, बोदेबरसाइन नगरपालिका-३ स्थित सडकमा स.१ त ४६८५ नम्बरको
ट्याक्टरले स.१० प ५६१७ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा
मोटरसाइकलमा सवार सिराहा नवराजपुर गाउँपालिका-४ बस्ने ४५ वर्षीय जितेन्द्र कुमार
यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल
राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर
चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा, मिथिला नगरपालिका-२ हजरा चोकस्थित सडकमा जनकपुरबाट
ढल्केवरतर्फ जाँदै गरेको म.प्र ०२-००७ प ५०२० नम्बरको स्कुटर सोमबार राति दुर्घटना
हुँदा चालक मिथिला नगरपालिका-४ पुस्पलपुर बस्ने ३२ वर्षीय पूर्ण बहादुर बिकको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैया हुँदै
जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here